धादिङ/ उत्तरी क्षेत्रमा पर्ने गंगाजमुना गाउँपालिका– ६ भैँसेगाउँका गुरुङ समुदाय होमस्टे (घरवास) र चौँरी, घोडानाचमार्फत पर्यटन प्रवर्द्धनमा जुटेका छन् । भैँसेगाउँ गोरखाको आरुघाट गाउँपालिका– ४ आर्खेटबाट सुरु हुने धादिङको गंगाजमुना गाउँपालिकाअन्तर्गतको ‘गंगाजमुना तीनसुरे पदमार्ग’ पर्ने पर्यटकीय स्थल हो ।
गुरुङ समुदायको बाहुल्य रहेको भैँसेगाउँमा गाउँपालिकाले होमस्टे निर्माणको काम अगाडि बढाएको छ । गुरुङ जातिको १ सय ५० घरधुरी रहेको भैँसेगाउँमा बसोवास गर्ने धेरै स्थानीय नेपाल, भारत र बेलायती सेनामा कार्यरत छन् ।
आफ्नो जागिरे जीवन सकिएपछि गाउँमै केही गर्नुपर्छ भन्ने मान्यता राख्छन् । ६ नम्बर वडा सदस्य एवं भैँसेगाउँका स्थानीय धनबहादुर गुरुङले गाउँको पर्यटन विकासका लागि भैँसेगाउँ जुटेको बताउनुभयो । भैँसेगाउँमा जाने आन्तरिक तथा बाह्य पर्यटकलाई यहीँ उत्पादित स्थानीय खानेकुरा ख्वाइन्छ ।
वडा नम्बर ६ मा रहेका १ हजार ७६ घरधुरीमध्ये झन्डै ४ सय घरधुरी गुरुङ समुदायको छ । गुरुङबाहेक यस गाउँमा ब्राह्मण, क्षेत्री, घले, नेवार, राईसमेत बसोवास गर्छन् । समुद्री सतहदेखि ५ सय ५० मिटर उचाइमा अवस्थित आर्खेत बजारदेखि २ हजार ९ सय २० मिटर उचाइमा रहेको तीनसुरे भ्यु प्वाइन्टसम्म यो वडा फैलिएको छ ।
प्राकृतिक सम्पदाले धनी रहेको यस वडामा सुन्दर हावापानी, जल, जंगल, बाक्लो बस्ती, खेतीयोग्य जमिन रहेको छ । गाउँपालिकाका पर्यटन विकास संयोजक एवं वडा नम्बर ६ का वडाध्यक्ष रमेश ढकाल घरवास र पुरानो चौँरी, घोडानाचमार्फत भैँसेगाउँ पर्यटन प्रवद्र्धनमा जुटिरहेको बताउनुहुन्छ । पर्यटन संयोजक ढकालले भन्नुभयो, ‘गंगाजमुना–तीनसुरे पदमार्गमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँको अग्र्यानिक खाद्यान्न र संस्कृतिमार्फत पर्यटन प्रवद्र्धन गर्नका लागि भैँसेगाउँ घरवास निर्माण गरेका हौँ ।’
भैँसेगाउँमा नेपालकै सबैभन्दा पुरानो माने गुम्बासमेत छ । नेपालकै दोस्रो लामो झोलुंगेपुलले यस वडालाई छोएको छ । उक्त पुलको लम्बाइ ४ सय २० मिटर र उचाइ ३ सय ५० मिटर रहेको छ । बसेरी फार्म हाउससमेत यस क्षेत्रको पर्यटक आकर्षण गर्ने अर्को गन्तव्य हो । यस फार्म हाउसमा स्थानीयस्तरमा उत्पादित खानेकुरा खान पाइन्छ ।
भैँसेगाउँमा मात्र नाचिँदै आएको परम्परागत नाच ‘चौँरी, घोडानाच’ यहाँको आकर्षक नाच हो । तिब्बत र नेपालको युद्धपछि तिब्बतलाई नेपालले पराजित गरेपछि उक्त नाच नाच्न थालिएको इतिहास छ । उक्त नाच धादिङको रुबिभ्यालीपछि भैँसेगाउँमा नाचिँदै आएको छ । उक्त नाचको संरक्षणमा स्थानीय सरकारले सहयोग गरेको ढकालले जानकारी दिनुभयो ।
भैँसे होमस्टेदेखि गंगाजमुना–तीनसुरे पदमार्ग हिले वन हुँदै बन्दीडाँडा पुगिन्छ । बन्दीडाँडाबाट अदुचेत खर्क, नांगचौरको वन, गोरखा र धादिङको साँधमा रहेको घुमाउने खोला, धरेनखर्क हुँदै समुद्र सतहदेखि २ हजार ९ सय २० मिटर उचाइमा रहेको ‘तीनसुरे भ्यु टावर’ पुग्न सकिन्छ ।
गंगाजमुना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल श्रेष्ठले यहाँ भएका प्रकृति र संस्कृति सम्पदालाई जोगाउँदै सिंगो गंगाजमुनाको पर्यटन विकासका लागि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गंगाजमुनाले अगाडि बढाएको ५ वटा गौरवको आयोजनामध्ये ३ वटा आयोजना पर्यटन क्षेत्रका छन् ।’
गंगाजमुनाले वडा नम्बर ६ मा रहेको भैँसेगाउँ र वडा नम्बर ३ मा रहेको अम्बोटे गाउँमा होमस्टे सञ्चालन गरिरहेको छ । होमस्टेमार्फत पर्यटन प्रवद्र्धन गर्नु गाउँपालिकाको प्रमुख लक्ष्य भएको उहाँको भनाइ छ । गंगाजमुना गाउँपालिकामा ब्राह्मणको भजन, नेवारको लाखेनाच, लामाको परम्परागत घोडानाच, गुरुङको घाँटुनाच, मगर, राई, घलेलगायतका परम्परागत संस्कृति अनुभव गर्न पाइन्छ ।
रासस
प्रतिक्रिया दिनुहोस