काठमाडौं / नेपाल पर्यटन बोर्डले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. गणेशप्रसाद पाण्डेले पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी बजेटको तयारीमा लाग्न निर्देशन दिनुभएको छ । बोर्डले नवनियुक्त अध्यक्ष डा. पाण्डेलाई स्वागत गर्न आयोजित कार्यक्रममा उहाँले उक्त निर्देशन दिनुभएको हो ।
स्वागत कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. पाण्डेले पर्यटन बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्ट नमुना भएको उल्लेख गर्दै बोर्ड गठन गर्दाको उद्देश्य अनुरुप काम गर्न सके नेपालको पर्यटन पर्वद्धन गर्न सकिने बताउनु भयो । बोर्डलाई चलायमान बनाउन आवश्यक नीतिगत निणर्य गर्न तथा कर्मचारीको वृत्ति विकासका लागि आफु सधैं सकारात्मक रहेको उहाँको भनाई थियो ।
बोर्डका कार्यकारी सदस्य ऋषि भण्डारीले पर्यटन चलायमान बनाउन आवश्यक नीतिगत सहजिकरण तथा सरोकारवालाहरुबीच सहकार्य आवश्यक भएको उल्लेख गर्दै बोर्डलाई चलायमान बनाउन सचिवले पहल गर्नु पर्ने र त्यसमा निजी क्षेत्रको तर्फबाट सधैं साथ सहयोग रहने बताउनु भयो ।
बोर्डका निमित्त कार्यकारी प्रमुख नन्दिनी लाहे थापाले बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्न आवश्यक नीतिगत सुधारको लागि मन्त्रालयबाट सहजीकरण हुने अपेक्षा गर्दै नवनियुक्त अध्यक्षलाई स्वागत गर्नु भयो । बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले पर्यटन बोर्डको समग्र गतिविधिबारे प्रस्तुतिकरण दिनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस