१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

व्यास नगरका सयजना किसानलाई पशुपालन तालिम



  • आफ्नै खबर
  • २९ बैशाख २०८१ शनिबार (७ महिना अघि)
  • पाठक संख्या ६४
  • तनहुँ/  व्यास नगरपालिकाको नगर क्षेत्रका १ सय अगुवा कृषकले कृषि र पशुपालन तालिम लिएका छन् । गोवद्र्धन शर्मा स्मृति कोषको आयोजनामा शुक्रबारदेखि सुरु भएको २ दिने तालिममा व्यास नगरपालिकाको वडा नम्बर ५, ७, ९, १० र ११ वडाका अगुवा कृषक सहभागी भएका हुन् ।   

    तालिममा भेटेरनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. राजेशकुमार चौधरी, व्यास नगरपालिका कृषि तथा पशुपन्छी विभाग प्रमुख डा. मनोज विश्वकर्मा र पशु चिकित्सक डा. सञ्जय श्रेष्ठले बाख्रा, गाईभैँसी, पशु चौपायालगायत पशुपालनको बारेमा ख्याल गर्नुपर्ने पक्ष र अनुदानको बारेमा तालिम दिनुभएको थियो । 

    व्यास नगरपालिका कृषि शाखा प्रमुख प्रतिभा बगाले, कृषि ज्ञान केन्द्र तनहुँका बाली संरक्षण अधिकृत किरण परियारले कृषि बालीमा ख्याल गर्नुपर्ने पक्ष, शत्रुजीव र मित्रजीवको पहिचान र वन क्षेत्रको विकास र संरक्षणको बारेमा नारायण कोइरालाले सहजीकरण गर्नुभएको स्मृति कोषले जनाएको छ । पचास–पचास जनाको समूह बनाएर तालिम दिइएको हो । 

    व्यास नगरपालिका क्षेत्रका अगुवा कृषकलाई सङ्गठित गरी आफूहरुले सीप हस्तान्तरण गर्न तालिम दिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । व्यास नगरपालिका क्षेत्रलाई कृषि र पशुपालनमा आत्मनिर्भर बनाउन आफूहरु जुटेकोसमेत नगरप्रमुख न्यौपानेले बताउनुभयो । करिब १८ वर्षदेखि कोषले प्राङ्गारिक खेती प्रवद्र्धनको लागि विभिन्न कृषक समूह र सहकारीलाई तालिम दिँदै आएको कोषका महासचिव रामचन्द्र पोखरेलले बताउनुभयो ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?