२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

सर्लाहीमा ९० प्रतिशत सकियो पूर्व–पश्चिम रेलमार्ग निर्माण 



  • आफ्नै खबर
  • २९ बैशाख २०८१ शनिबार (१२ महिना अघि)
  • पाठक संख्या ११५
  • सर्लाही/  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको लालबन्दी कार्यालयका सूचना अधिकारी इन्जिनियर भुवनेश्वर यादवले जानकारी दिनुभयो । 

    यस खण्डअन्तर्गत पूर्वमा बाँके खोलादेखि पश्चिम बागमती नदीसम्म ३० किलोमिटर ट्रयाक निर्माणको काम भइरहेको हो । परियोजनाको जारी पहिलो चरणको कामअन्तर्गत रेल मार्गको ट्रयाकमा बेस हाल्नेसम्मको काम सम्पन्न हुने इन्जिनियर यादवले बताउनुभयो । 

    चालु आवको अन्तिमसम्ममा ठेक्का अवधिसमेत सकिने भएकाले ठेकेदार कम्पनीले कामको रफ्तार बढाएको उहाँको भनाइ छ । यस खण्डको केही स्थानमा भने ट्रयाक निर्माणको कामसमेत बाँकी रहेको छ । सागरनाथ वन परियोजना र मूर्तिया वन कार्यालयले रूख कटान नगर्दा काम रोकिएको हो । हरिवन नगरपालिका–५ घुर्काैली क्षेत्रका केही किसानले अझै मुआब्जा लिन नमानेका कारण काम अगाडि बढ्न सकेको छैन । किसानले जग्गाको मूल्याङ्कन बढाउन माग गर्दै काम गर्न अवरोध गरिरहँदा त्यस क्षेत्रमा कामको प्रगति शून्य छ ।

    वन कार्यालयले समेत भर्खरै रूख कटानको ठेक्का लगाएको रेल्वे आयोजना कार्यालय लालबन्दीले जनाएको छ । ढिलो गरी रूख कटानको तयारी भएकाले समयमै काम सम्पन्न हुनेमा अझै शङ्का रहेको परियोजनाका सूचना अधिकारी यादवले बताउनुभयो । 

    यस योजनाको आव २०७४÷७५ मा ठेक्का लागेको थियो । लगत्तै ठेकेदार कम्पनीले निर्माण आरम्भ गरेको थियो । पछिल्लो समय बजेट अभावले समेत कामको गति सुस्त बनेको उहाँको भनाइ छ । ठेकेदार कम्पनीले काम सम्पन्न गरिसक्दासमेत भुक्तानी पाउन बाँकी रहेको आयोजना कार्यालय लालबन्दीले जनाएको छ ।

    रासस