२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

बिर्तामोड नगरपालिका पूर्वाधारमा केन्द्रित



  • आफ्नै खबर
  • ३० बैशाख २०८१ आईतबार (१२ महिना अघि)
  • पाठक संख्या १०२
  • झापा/  बिर्तामोड नगरपालिका विकासको मुख्य आधार मानिने पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर अघि बढेको छ । नगरपालिकाले १० वटै वडामा वडागत योजना बनाएरै विकास–निर्माणको काम अघि बढाएको हो । 

    चालू आवमा १०.८४ किलोमिटर सडक कालोपत्र, ३४.८८ किलोमिटर सडक ग्राभेल र ४.४४ किलोमिटर सडक स्तरोन्नति गरेको छ । त्यस्तै, उज्यालो नगरपालिका घोषणा गर्ने लक्ष्यका साथ सडकको स्तरोन्नतिसँगै नगरका विभिन्न ३७ स्थानमा कल्भर्ट, २९ वटा विपन्न आवास, एउटा प्रशासनिक भवन, एउटा अस्पताल, २१ स्थानमा सडकबत्ती, विद्युत् पोल विस्तार, नाला निर्माणलगायतका काम गरेको छ । 

    बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार १ सय ४.३० किलोमिटर क्षेत्रमा तटबन्धन गरिएको छ भने एउटा झोलुंगे पुल, ५६ वटा भवन मर्मत, ७ वटा सामुदायिक विद्यालय भवन निर्माणका साथै खानेपानीका लागि ३ सय ८० मिटर पाइपलाइन विस्तार गरिएको छ ।

    आगामी ५ वर्षभित्र प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै बिर्तामोडमा रिङरोड निर्माण, डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासनिक भवन, डोमलाल राजवंशी रंगशालाको स्तरोन्नति, देवीहाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन, बुट्टाबारी–प्याकुरेल चोक जोड्ने सडकको स्तरोन्नति, बिर्तामोड नगर अस्पतालको स्तरोन्नति भइरहेको छ ।

    नगरपालिकाको ‘नगर गौरव’को आयोजनाका रूपमा रहेको बुट्टाबारी–प्याकुरेल चोक सडकखण्डको स्तरोन्नतिको काम भइरहेको छ । ६.२ किलोमिटर लामो उक्त सडक विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको हो । सडक निर्माणका लागि विश्व बैंकले ५१ करोड २९ लाख ६१ हजार रुपैयाँ ऋण दिएको छ । सडक २ वर्षभित्र सम्पन्न गर्ने सम्झौता भएको नगरपालिकाले जनाएको छ ।

    १२ मिटर चौडा उक्त सडकको दायाँबायाँ पानी निकासको नाला निर्माण गरिनेछ भने बत्ती, पैदलयात्री मार्ग बनाइनेछ । सडकले बिर्तामोड ६, ७ र ८ नम्बर वडा जोड्दै सदरमुकाम चन्द्रगढी जाने मूल सडकलाई पनि समेट्ने नगरपालिकाका इन्जिनियर नरेन्द्र श्रेष्ठले बताउनुभयो । योसहित नगरपालिकामा ६९ वटा नगरस्तरीय विकास निर्माणका योजनामा काम भइरहेको छ । बहुवर्षीय ठेक्कामा २१ वटा योजनाको काम भइरहेको छ । 

    रासस