काठमाडौं/ गोकर्णेश्वर नगरपालिका– ५ नयाँबस्तीमा रहेको लक्ष्मीप्रसाद देवकोटा स्मृति पार्कवरिपरि नयाँ पर्खाल निर्माण भएको छ । ०६० सालमा जनश्रमदानबाट निर्माण गरिएको पर्खाल जीर्ण भएपछि गोकर्णेश्वर नगरपालिका– ५ का अध्यक्ष नारायणबहादुर सुवेदीको सिफारिस तथा प्रदेश सांसद छिरिङदोर्जे लामाको पहलमा बागमती प्रदेश भौतिक पूर्वाधार निर्माण कार्यक्रम अनुदानअन्तर्गत गोकर्णेश्वर नगरपालिकासँग सम्झौता गरी उक्त पर्खाल पुनः निर्माण गरिएको हो ।
पर्खालको उद्घाटन बागमती प्रदेश काठमाडौं क्षेत्र नं. ३ (१) का सांसद छिरिङदोर्जे लामाले गर्नुभएको हो । उक्त पर्खाल तथा गेट निर्माणका लागि प्रदेश सरकारले ३० लाख रुपैयाँ बजेट दिएको र जनश्रमदानबाट १ लाख ६० हजार रुपैयाँ उठेको जनाइएको छ ।
पर्खालको उद्घाटन गर्दै सांसद लामाले विकास निर्माणका लागि स्थानीय नागरिकको अपेक्षाअनुसार प्रदेश सरकारमा पहल गरेको बताउनुभयो । त्यस्तै, विशेष अतिथिका रूपमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले नयाँ बस्ती युवा क्लबले युवा र खेलकुद क्षेत्रमा उल्लेख्य योगदान गरेको बताउनुभयो । नगरपालिकाकै एक मात्र बी डिभिजन फुटबल क्लब रहेकाले वार्षिक रूपमा बजेटसमेत छुट्याउने गरेको उहाँको भनाइ थियो ।
(तस्विर सौजन्य : नयाँ बस्ती युवा क्लवका सचिव चन्द्रमणि गौतम)
प्रतिक्रिया दिनुहोस