१३ असार २०८२ शुक्रबार | 27 Jun 2025 Fri

बाँकेका होमस्टेमा बढे आन्तरिक पर्यटक



  • आफ्नै खबर
  • ३१ बैशाख २०८१ सोमबार (१ बर्ष अघि)
  • पाठक संख्या ११९
  • बाँके/  बाँकेका ग्रामीण क्षेत्रमा सञ्चालित होमस्टेमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका गाभर भ्याली, खड्कवार सामुदायिक होमस्टे र राप्तीसोनारीको नयाँ गाउँ होमस्टेमा आन्तरिक पर्यटकको संख्या दैनिक रूपमा बढ्न थालेको हो । 

    गाभर भ्याली होमस्टेका अध्यक्ष कृष्णलाल चौधरीले नेपालगन्ज, कोहलपुरलगायतका सहरी क्षेत्रबाट गर्मी छल्न होमस्टे आउने चलन बढ्दै गएको बताउनुभयो । चौधरीले भन्नुभयो, ‘पूर्व–पश्चिम राजमार्ग क्षेत्र नजिकै भएकाले बाँके र बर्दिया मात्र नभई कर्णाली, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका अन्य जिल्लाबाट बढी मात्रामा होमस्टेमा पाहुना आउने गरेका छन् ।’

    छोटो समयमा पर्यटकीय क्षेत्रको पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र पर्दछ । खासगरी आन्तरिक पर्यटकको प्रमुख आकर्षणको केन्द्रविन्दु रहेको गाभर भ्यालीबाट चुरे पर्वतका मनोरम दृश्य देख्न सकिन्छ ।

    थारू र मुगाली समुदायद्वारा सञ्चालित गाभर भ्याली होमस्टेमा दैनिक करिब ५ सय आन्तरिक पर्यटक पुग्ने गरेका छन् । ‘यतिबेला बाहिरी जिल्लासँगै नेपालगन्जलगायत बाँके जिल्लाभित्रैका पाहुना यहाँ आइरहेका छन्,’ चौधरीले भन्नुभयो, ‘एकपटक यहाँ आएका पाहुनाहरू फेरि फर्किएर आउने गर्नुभएको छ ।’

    गाभर होमस्टे आउने पाहुनालाई बाँके राष्ट्रिय निकुञ्जमा हात्ती सफारी र जंगल सफारीको व्यवस्था गर्ने गरिएको छ । स्थानीय स्वादसँगै प्राकृतिक मनोरममा पाहुना आकर्षित हुने गरेको च्यामा होमस्टेका सञ्चालक गणेश दहितले बताउनुभयो । 

    बाँके, बर्दियासँगै काठमाडौंबाट समेत पाहुना घुम्न आउने गरेको उहाँको भनाइ छ । नेपालगन्ज उपमहानगरपालिका– १० आदर्शनगरबाट गर्मी छल्न च्यामा होमस्टे पुगेका प्रज्ज्वल जोशीले समय मिलाएर होमस्टे घुम्न आउने गरेको बताउनुभयो । 

    बाँके निकुञ्ज घुम्न आउने पर्यटक अहिले होमस्टेको स्वाद लिन आफूकहाँ आउने गरेको नयाँगाउँ सात नम्बर होमस्टेकी सञ्चालक शोभी थारूले बताउनुभयो । होमस्टे आएका पाहुनालाई लोकल कुखुरा, ढिक्री, घोँगीलगायत स्थानीय प्रांगारिक परिकारले स्वागत–सत्कार गर्ने गरेको उहाँको भनाइ छ । 

    नेपालगन्जबाट करिब २५ किलोमिटरको दूरीमा रहेको नयाँगाउँ होमस्टे २०७२ सालमा सञ्चालनमा ल्याइएको थियो । सुरुमा ७ घरमा सञ्चालन गरिएको होमस्टे अहिले १३ घरमा सञ्चालनमा आएको छ । राजमार्गसँगै जोडिएको र पर्याप्त घुम्ने ठाउँ भएकाले नेपालगन्ज, कोहलपुरलगायतका क्षेत्रबाट यहाँ दैनिकजसो पाहुना पुग्ने गर्छन् । 

    होमस्टेनजिकै वनस्पति उद्यान, ढकेरी वनभोजस्थल र बाँके राष्ट्रिय निकुञ्जको हात्तीसार रहेकाले पनि आन्तरिक पर्यटकको चहलपहल हुने गरेको नयाँगाउँ होमस्टेका अध्यक्ष मंगल थारूले बताउनुभयो ।

    बाँकेका पाँच सामुदायिक होमस्टेमा ५० घरपरिवार आबद्ध छन् । २०७० सालमा सुरु भएको बाँकेको पहिलो गाभर भ्याली सामुदायिक होमस्टे अहिले नेपालकै नमुना घरवासका रूपमा चिनिन्छ । बाँकेमा सञ्चालित होमस्टे जीविकोपार्जन मात्रै नभई आयआर्जनको माध्यम बनेको गाभर भ्याली होमस्टेका अध्यक्ष चौधरीले बताउनुभयो ।

    रासस