अर्घाखाँची/ चिसो हावा र चिसो पानीले प्रसिद्ध नरपानी डाँडामा गर्मी लागेसँगै चहलपहल बढ्दो छ । धेरै हिमाल तथा मनमोहक दृश्यहरू देख्न पाइने हुँदा नेपाल तथा भारतबाट यहाँ धेरै पर्यटक आउने गर्छन् ।
तराईमा बढेको गर्मी छल्न अहिले तराई भेग तथा भारतका उत्तर प्रदेश, बिहारलगायत विभिन्न क्षेत्रबाट मानिस आउने गरेका छन् । तातो क्षेत्रबाट यस स्थानमा आएपछि चिसो हावा र चिसो पानीका साथै चिसो वातावरणमा रम्न पाउदा घुम्न आउने पर्यटक पनि प्रफुल्लित हुने गरेका छन् । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानी वनभोज स्थलको रूपमा पनि विकसित हँुदै गएको छ ।
सुपा देउरालीमा धार्मिक विश्वासका साथ पाठा, पाठी चढाउन आउनेहरू देउरालीमा चढाएका पाठा, पाठीहरू लिएर नरपानीमा वनभोज गर्ने गर्दछन् । सुपा देउरालीको दर्शन गरेपछि मनले चिताएको पुग्ने धार्मिक विश्वास छ । कडा चट्टानका बीच निर्माण भएको सडक र त्यही सडकको छेउमा मन्दिर छ ।
सुपा मन्दिरको शिरमा जान सकिने केबलकार र साहसिक पदमार्ग बनाउन सके यहाँ पर्यटन व्यवसायबाट राम्रो आम्दानी लिन सकिने सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठ बताउनुहुन्छ । सुपाको पूर्वमा रहेको भैँसी मेलामा मन्दिर बनाएर केबलकार बनाउने, पश्चिमको सिद्ध मन्दिरमा आउने पुल बनाउने तथा साहसिक पदमार्गको निर्माण गर्न पहल भइरहेको उहाँको भनाइ छ ।
महेन्द्र राजमार्गको गोरुसिँगेबाट ५० किलोमिटरको दूरीमा नरपानी रहेको छ । गोरुसिँगे–सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटकहरू बढी आउने गरेका छन् । यहाँ वरिपरि हरियाली डाँडा र बीचमा समथर भूभाग रहेको छ । भविष्यमा यस क्षेत्रमा पर्यटनले फड्को मार्ने विश्वास लिइएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताउनुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस