२३ कात्तिक २०८२ आईतबार | 09 Nov 2025 Sun

ग्लोबल आइएमईले पायो ग्लोबल फाइनान्सको ‘बेस्ट बैंक अवार्ड’ 



  • आफ्नै खबर
  • १ जेठ २०८१ मंगलबार (२ बर्ष अघि)
  • पाठक संख्या ११९
  • काठमाडौं/  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । 

    बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डहरूमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक प्रमाणित हुँदै सम्मानित भएको बैंकले जनाएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्यअमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वीयुरोप, मध्यपूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको जनाइएको छ । 

    ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने ग्लोबल आइएमई बैंक पहिलो नेपाली बैंक भएको बैंकको दाबी छ । ग्लोबल फाइनान्सले यस वर्ष हङकङको एचएसबिसी, संयुक्त राज्य अमेरिकाको बैंक अफ अमेरिका, भारतको स्टेट बैंक अफ इन्डिया, चीनको चाइना कन्स्ट्रक्सन बैंक, नेपालको ग्लोबल आइएमई बैंक, मलेसियाको मेबैंक, बंगलादेशको स्ट्यान्डर्ड चार्टर्ड बंगलादेश, फिलिपिन्सको मेट्रोबैंकलगायतका विश्वभरका विभिन्न बैंकहरूलाई विभिन्न विधामा सम्मानित गरेको जनाइएको छ । 

    ग्लोबल फाइनान्सबाट प्राप्त ‘नेपालको उत्कृष्ट बैंक’को सम्मानले आगामी दिनमा बैंकलाई रचनात्मक सेवाहरू प्रदान गर्न थप उत्साहित गर्ने बैंकले जनाएको छ । 

    हाल बैंकले देशका ७७ वटै जिल्लामा कुल ३ सय ५४ शाखा कार्यालय, ३ सय ७९ एटिएम, २ सय ७७ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टरका साथै ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ ।