१९ असोज २०८२ आईतबार | 05 Oct 2025 Sun

नेपाल–कोरिया सम्बन्ध सगरमाथाजस्तै उच्च होस्



  • आफ्नै खबर
  • १ जेठ २०८१ मंगलबार (१ बर्ष अघि)
  • पाठक संख्या १३०
  • ५० वर्षअघि सन् १९७४ मे १५ तारिखमा गणतन्त्र कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापना हुँदै गर्दा कोरियाले आर्थिक विकासका खातिर पसिना बगाइरहेको अवस्था थियो । त्यतिबेला हामीले भोगेका अनेकौँ पीडादायी क्षणहरू हेर्दा त्यस समयमा नेपालको अवस्था हाम्रोभन्दा सहज थियो भन्ने लाग्छ । कूटनीतिक सम्बन्ध स्थापित भएका हामी दूरीका हिसाबले ४ हजार किलोमिटर टाढा रहेका छौँ । आज हामी दुई देशबीचको मित्रता, जनस्तरको सम्बन्ध, सांस्कृतिक समन्वय, विकास साझेदारी कार्यक्रम, रोजगारी समन्वय आदिले नयाँ उचाइ चुमेको छ । कूटनीतिक सम्बन्ध स्थापना भएका अन्य मुलुकहरूभन्दा नितान्त फरक किसिमको आत्मीयता, सम्मान, विकास साझेदारी कार्यक्रमले यत्तिको फड्को मार्ने सम्बन्धमा बहुसंख्यकले कल्पना गरेका थिएनौँ भन्ने लाग्छ ।

    कोरिया र नेपाल हवाई उडानका माध्यमबाट करिब ७ घण्टाको दूरीमा रहेका छन्, तथापि एसियाली मुलुक गणतन्त्र कोरिया र नेपालबीच सामाजिक एवं सांस्कृतिक, धार्मिक मूल्य–मान्यता, भोजन आदि धेरै पक्षहरूमा समानता पाइन्छ । नेपालको लुम्बिनीमा जन्मनुभएका गौतमबुद्धबाट सुरुवात भएको बौद्ध संस्कृति, परिवारलाई महत्व दिने संस्कार तथा ठूलालाई सम्मान गर्ने संस्कार आदि हामी दुई देशबीचमा समानता रहेका छन् । त्यसैगरी खानामा चामलको प्रयोग, मःम, गुन्द्रुकलगायतका परिकारमा पनि समानता रहेका छन् । नेपालमा मैले भेट्ने नेपाली र मेरो अनुहार पनि मिल्दोजुल्दो पाउँछु । दुई देशबीच परापूर्वदेखि नै समान रहेका संस्कार, संस्कृति, आचरण, भोजन, अनुहार आदि पक्षहरू निकै सुन्दर पक्षहरू हुन् भन्ने लाग्छ । 

    दुई देशबीचमा कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको छ । विगत ५० वर्षको मित्रतालाई मूल्यांकन गर्दै आगामी ५० वर्षका लागि विकास साझेदारी कार्यक्रमलाई कसरी अगाडि बढाउने भन्नेबारेमा दिशा निर्धारण गर्ने गोरेटो तय गर्ने चरणमा आइपुगेका छौँ । दुई देशको सम्बन्धलाई ‘तीन पी’ पिस (शान्ति), पिपुल (जनता) र प्रोस्पेरिटी (समृद्धि)का रूपमा हेर्न सकिन्छ । 

    शान्ति (पिस)
    क्षेत्रीय मामिलामा पनि दुई देशबीचको सहकार्यले निरन्तरता पाएको छ । हामीले आफ्नो स्वार्थमा मात्र ध्यान केन्द्रित नगरी बहुपक्षीय हितका लागि साझा मञ्चको उपयोग गर्दै आएका छौँ । हामी दुवै मुलुकले मैत्रीपूर्ण तथा शान्तिप्रिय सम्बन्ध स्थापित गरेका छौँ । संयुक्त राष्ट्रसङ््घजस्ता बहुपक्षीय क्षेत्रहरूमा सहभागिता जनाउँदा हामी विश्वभर शान्ति र स्थायित्व प्रवद्र्धन गर्न एउटै स्थानमा रहेर आफ्नो समान धारणा सार्वजनिक गरिरहेका छौँ ।

    कोरियाली युद्धको समयमा हामीले भोगेको अनुभवजस्तै आधुनिक इतिहासमा नेपालले भोगेको समान अनुभव तथा शान्ति प्रक्रियाको व्यवस्थापनसम्बन्धी महत्व राम्रोसँग बुझ्ने देशहरूमध्ये नेपाल एक हो । दुई देशबीचको कूटनीतिक सम्बन्धमा कुनै पनि राजनीतिक मुद्दा उठेका छैनन् र हामीले एक–अर्कालाई बुझेका छौँ । राम्रो सहयोगी सम्बन्ध राखेका छौँ र भविष्यमा पनि यसले निरन्तरता पाउनेछ । 

    जनता (पिपुल)
    कूटनीतिक सम्बन्धमा जनस्तरको सम्बन्ध तथा सहकार्य निकै महत्वपूर्ण सम्पत्तिको रूपमा लिइन्छ । कोरिया र नेपालबीच सक्रिय रूपमा विकसित जनस्तरको सम्बन्धका कारण दुई देशबीचको मैत्रीपूर्ण समन्वयले महत्वपूर्ण स्थान लिएको छ । सन् २००८ देखि नेपाली युवाले रोजगारीका लागि सबैभन्दा बढी रुचाएको देशमा कोरिया परेको छ । कोरियाको इतिहास फर्किएर हेर्दा देश विकास र उत्पादन वृद्धि प्रक्रियामा वैदेशिक रोजगारीले उल्लेख्य भूमिका निभाएको थियो । विगतमा हाम्रो देशबाट जर्मनी र मध्यपूर्वी देशहरूमा धेरै कामदारले पसिना बगाएका थिए । नेपालको हालको अवस्थासँग मिल्दोजुल्दो छ । हाल नेपालबाट रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सरकारी पक्षबाट श्रम सहकार्य गरी नेपाली कामदारलाई न्यून शुल्कमा सरल तथा निष्पक्ष रूपमा रोजगारीको अवसर प्रदान गरेका छौँ । सन् २००८ पश्चात् हालसम्म १ लाखभन्दा बढी नेपाली युवालाई कोरियामा रोजगारीको अवसर प्रदान गरिएको छ र हाल ४४ हजारभन्दा बढी व्यक्ति कोरियामा कार्यरत छन् ।

    इपिएसमार्फत कोरियामा कार्यरत नेपालीलाई स्वदेशी कामदारसरह समान न्यूनतम पारिश्रमिक, स्वास्थ्य बिमा, औद्योगिक दुर्घटना बिमा तथा कोरियालीसरह श्रम अधिकारको संरक्षण प्रदान गरिएको छ । नेपालको श्रमशक्तिले कोरियाली अर्थतन्त्रमा गरेको योगदानका लागि हामी सदा आभारी छौँ । इपिएस कार्यान्वयनमा दुई देशका सरकारी पक्ष संलग्न भएकाले कामदारको अन्तिमा छनोट प्रक्रियामा रोजगारदाताको मुख्य भूमिका हुन्छ । कोरियाली रोजगारदाताले १६ इपिएस साझेदार देशका कामदारमध्ये नेपाली कामदारलाई सबैभन्दा बढी रुचाउँछन् । 
    त्यसको फलस्वरूप गत वर्ष कोरियामा करिब २० हजार नेपाली कामदार पुगेका थिए । यो संख्या भनेको कामदार भित्र्याउने १६ देशमध्ये सबैभन्दा बढी हो । नेपाली इमानदार, मिहिनेती तथा अनुशासित छन् भन्नेबारेमा कोरियाली रोजगारदाता र समाजमा विश्वास छ । हाम्रो दूतावासले इपिएस प्रणालीमार्फत निरन्तर नेपालीलाई कामको अवसर उपलब्ध गराउन नेपाल सरकारसँग सहकार्य गर्दै आएको छ ।

    कोरियाबाट धेरै पर्यटक नेपाल आउने गरेका छन् । कोरियाली पर्यटकले नेपालको सुन्दर हिमाल तथा सानदार सांस्कृतिक सम्पदाको आनन्द लिने गरेका छन् । कोरियामा पनि नेपालमा जस्तै धेरै पहाड छन्, कोरियाको ६३ प्रतिशत भाग वन क्षेत्रले ओगटेको छ । कोरियाली पहाड मन पराउँछन् र उनीहरूका लागि पैदल यात्रा सबैभन्दा लोकप्रिय मनोरञ्जन गतिविधि हो । कोरियाली पर्वतारोहीमा जीवनमा एकपटक भने पनि हिमालय आरोहरण गर्ने सपना रहेको हुन्छ । गत वर्ष २४ हजार हाराहारी कोरियालीले नेपालमा यो सपना पूरा गरेका थिए । कोरियामा १ करोड ८० लाख पर्वतारोही छन्, जसले हिमालय आरोहणलाई ‘बकेट लिस्ट’ वस्तु मान्छन् । 

    कोरोना महामारी हुनुभन्दा अगाडि झन्डै ४० हजार कोरियाली पर्यटकले नेपाल भ्रमण गरेका थिए । निकट भविष्यमा नेपालमा आउने कोरियाली पर्यटकको संख्या त्यसै हाराहारीमा पुग्नेछ भन्ने लाग्छ । नेपालमा प्राकृतिक सौन्दर्यको आनन्द लिने कोरियाली नेपाल र नेपाली संस्कृतिप्रति माया र सद्भाव राख्ने शक्ति बनेका छन् । प्रख्यात कोरियाली पर्वतारोही क्याप्टेन अम होङ गिलले नेपालमा सहयोग गर्नका लागि संस्था स्थापना गरी कमजोर शैक्षिक अवस्था भएका दुर्गम क्षेत्रमा १९ वटा विद्यालय निर्माण गरिसकेका छन् । अर्काे शब्दमा भन्नुपर्दा, कोरिया र नेपालले सक्रिय द्विपक्षीय जनस्तरको आदान–प्रदानबाट पारस्परिक सकारात्मक चेतनाको विकास गरेका छन् र निजी स्तरमा पनि सहयोग विस्तार गर्दै आएका छन् ।

    नेपालका काठमाडौं, ललितपुर, पोखरालगायतका महानगरपालिकाले कोरियाका विभिन्न सहरसँग भगिनी सम्बन्ध स्थापना गरेका छन् । दुई देशका स्थानीय सरकार, महानगरपालिका तथा नगरपालिकाबीचको समन्वयले सहरी पूर्वाधार, निर्माण, कृषि, पर्यटनको विकासमा सहयोग पुग्नेछ भन्ने लागेको छ । कोरिया नेपालको असल मित्रराष्ट्र मात्र नभएर विकास साझेदार देश पनि भएकाले त्यहाँबाट सिक्ने ज्ञान तथा सीप अन्ततः नेपालको समग्र विकासका लागि सुनौला उपहार हुनेछन् । 

    समृद्धि (प्रोस्पेरिटी)
    कोरिया र नेपालबीचको आर्थिक समृद्धि र विकाससम्बन्धी सहकार्य पनि निरन्तर विस्तार हुँदै गएको छ । कोरिया सरकारले नेपाललाई विगत १५ वर्षदेखि प्रमुख विकास साझेदार देशको रूपमा निर्धारण गरेर स्वास्थ्य, शिक्षा, कृषिजस्ता क्षेत्रमा विकास सहयोग परियोजनालाई प्रवद्र्धन गर्दै आएको छ । कोरिया सरकारले कोइकामार्फत सन् १९९१ देखि सन् २०२३ को अन्त्यसम्म नेपालका विभिन्न परियोजनाका लागि कुल २० करोड अमेरिकी डलरबराबरको सहायता उपलब्ध गराइसकेको छ । कोरिया सरकारले नेपालको आवश्यकताअनुसार स्वास्थ्य क्षेत्रमा कुल सहयोग रकममध्ये ३२ प्रतिशत, कृषि क्षेत्रमा १९ प्रतिशत, सञ्चार (आइटी) क्षेत्रमा १७ प्रतिशत, सार्वजनिक प्रशासन सुधार क्षेत्रमा १३ प्रतिशत तथा शिक्षा क्षेत्रमा १० प्रतिशत रकम विनियोजन गरेर साझेदारी कार्यक्रम अगाडि बढाएको छ । त्यसै अवधिमा नेपाल सरकारका विभिन्न तहका २ हजार २ सय ११ जना कर्मचारीलाई क्षणिक तथा विश्वविद्यालयमा अध्ययन गर्ने अवसर प्रदान गरेका छौँ । क्षणिक भ्रमणका क्रममा कर्मचारीको व्यवस्थापकीय कुशलताका लागि ध्यान केन्द्रित गरेका छौँ । सोही अवधिमा कोरियाबाट स्वयंसेवकका रूपमा जम्मा ३ हजार २ सय ३६ जना स्वयंसेवकले नेपालको आवश्यकताअनुसार विभिन्न क्षेत्रमा सहयोगी भूमिका खेलिसकेका छन् । 

    हाल कोरिया सरकारमार्फत नेपालमा ४८ वटा परियोजना सञ्चालनमा रहेका छन् । त्यसैगरी, ५ वर्षको अवधिभित्र केही सम्पन्न भएका र केही सञ्चालनमा रहेका परियोजनाको संख्या १ सय १४ वटा रहेको छ । हाम्रो उद्देश्य नेपालको समृद्धिका लागि आवश्यक आधार तय होस् भन्ने रहेको छ । हामी निकट भविष्यमा समृद्ध नेपाल हेर्न आतुर छौँ र त्यो सम्भव छ भन्ने हाम्रो बुझाइ रहेको छ । कोरियामा काम गरेर नेपाल फर्केका व्यक्तिले नेपालको समृद्धिमा योगदान गर्न सक्ने वातावरण निर्माणका खातिर प्रयत्नरत छौँ । यसैअन्तर्गत कोरिया फिर्ती अनुभवी व्यक्तिहरूलाई उद्यमशील तालिम प्रदान गरेर नेपालमा नै व्यवसाय सञ्चालन गर्न पुनः एकीकरण कार्यक्रम सञ्चालनमा ल्याएका छौँ ।

    कोरियाली कम्पनीले नेपालको विभिन्न क्षेत्रमा लगानीको सम्भावनालाई नियालिरहेका छन् । नेपाल सरकारको योजनामा रहेको नेपालको उत्पादनलाई महत्व दिँदै (मेड इन नेपाल) लेखिएका उत्पादनले स्थान पाएको छ । विभिन्न कोरियाली कम्पनीले नेपालमा नै उत्पादन सुरुवात गरिसकेका छन् । नेपालमा रोजगार सिर्जना गर्न तथा वैदेशिक लगानीका उत्कृष्ट उदाहरणका रूपमा उदाएका छन्, जसले अन्य मुलुकका लगानीकर्ताको पनि नेपालमा ध्यान केन्द्रित गर्छ भन्ने लागेको छ । कोरियाको विश्वप्रसिद्ध कम्पनीले नेपालमा लगानी थालनी गरिसकेको छ । गत वर्ष अप्रिलदेखि कोरियाली ग्लोबल कम्पनी सामसुङ इलेक्ट्रोनिक्सले नेपाली कम्पनीसँगको संयुक्त लगानीमा नवलपरासी जिल्लामा अत्याधुनिक टिभी एसेम्बली प्लान्टमार्फत आधुनिक टिभीको व्यावसायिक उत्पादन गरिरहेको छ । 

    यसैगरी हुन्डाई मोटर कम्पनीले पनि नेपालको स्थानीय कम्पनीसँगको साझेदारीमा यही मे १० तारिखदेखि नवलपरासी जिल्लामा अटोमोबाइल एसेम्बली प्लान्ट स्थापना गरी व्यावसायिक रूपमा गाडी उत्पादन सुरु गरेको छ । नेपालमा जलविद्युत् उत्पादनको क्षेत्रमा कोरियाको साउथ–इस्ट पावर कम्पनीले विश्वव्यापी वित्तीय संस्थालगायतको संयुक्त लगानीमा ६५ करोड अमेरिकी डलरको स्रोत जुटाएर रसुवा जिल्लामा २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली– १ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सन् २०२७ मा आयोजना सम्पन्न भएर विद्युत् उत्पादनको लक्ष्य रहेको छ । जलविद्युत् क्षेत्रमा कोरियाली कम्पनीको लगानी रहेको यो तेस्रो आयोजना हुनेछ । कोरियाली कम्पनीको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने देशमध्ये शीर्ष ५ स्थानमा रहेको छ । यही वर्ष अप्रिल २८ र २९ मा भएको तेस्रो लगानी सम्मेलनमार्फत कोरियाली लगानीकर्तालाई नेपालको लगानी सम्भावना, लगानीयोग्य परियोजनाबारे प्रभावकारी रूपमा प्रस्तुत गरिएको थियो र नेपालमा थप कोरियाली लगानीले स्थान पाउनेछ भन्ने मेरो बुझाइ रहेको छ ।

    सदावहार साथी
    साथी बनाइँदैन, आफैँ बन्ने हो । साथी भनेको स्वार्थको सीमाभन्दा धेरै पर रहेको हुन्छ । असल साथीमा बार–बन्देज, स्तर र ओहोदा हुँदैन, केवल मित्रवत् मन हुन्छ, दुःखसुख आपसमा साट्न सक्ने हार्दिकता हुन्छ । हार्दिकताले साथीत्वको मुहान फुटाउँछ । त्यसैले साथी पाउनु, साथी बन्नु अनुपम आनन्द पाउनु हो, अलौकिक शक्ति भेट्टाउनु हो । गणतन्त्र कोरियाले असल साथीको रूपमा नेपाललाई लिएको छ । 

    मलाई एउटा कोरियाली उखान सम्झना आउँछ– यदि तपाईंसँग असल साथी छन् भने लामो बाटोको यात्रा पनि नजिक हुनेछ । विगत ५० वर्षदेखिको दुई देशबीचको मित्रता आगामी ५० वर्षका लागि पनि साझेदारीको महत्वपूर्ण आधार हो भन्ने लाग्छ । माथि उल्लेख गरिएको ‘तीन पी’को अवधारणा तथा समन्वय आगामी वर्षमा थप विस्तार हुने कुरामा म विश्वस्त छु । नेपालको असल मित्र कोरियासँग रहेको आर्थिक समृद्धिको अनुभव नेपालसँग साट्नका लागि हामी तत्पर रहका छौँ । कोरिया र नेपाल मिलेर सँगै गर्नुपर्ने लामो यात्रा बाँकी छ । नेपालको विकास र समृद्धिको प्रक्रियामा कोरिया सधैँ भरपर्दाे र विश्वसनीय सहयोगी हुनेछ । पचासौँ वार्षिकोत्सवको स्वर्णजयन्तीमा नाराको रूपमा ‘एभरेस्टिङ फ्रेन्डसिप’ राखिएको छ । हाम्रो सम्बन्ध सगरमाथाजत्तिकै उच्च रहोस् भन्ने कामना गर्दछु ।

    (नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङसँग राससका प्रतिनिधिले गरेको कुराकानीमा आधारित)