पर्वत/ कृषि उत्पादनबाट पालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले विहादी गाउँपालिकाले किसानलाई अनुदान दिन थालेको छ । व्यावसायिक रूपमा कृषि कर्म गर्ने किसानलाई प्रोत्साहनस्वरूप तरकारी, फलफूल र दुध उत्पादकका निम्ति कुल लागतको ७५ प्रतिशतसम्म अनुदान दिन थालिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भुसालका अनुसार पालिकाले ‘टनेल’मा तरकारी खेती गर्ने किसानलाई प्रतिटनेल ७५ प्रतिशत अनुदान उपलब्ध गराउनेछ । पालिकाका ६ वटा वडामा मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने किसानलाई प्लास्टिक टनेल वितरण गर्न चालू आवमा ४ लाख रुपैयाँ विनियोजन गरिएको उहाँले बताउनुभयो ।
विहादीले फलफूलका बिरुवा पनि ७५ प्रतिशत अनुदानमा उपलब्ध गराउने भएको छ । व्यावसायिक रूपमा फलफूलखेतीतर्फ आकर्षण बढाउने उद्देश्यले सुन्तला, कागती, आँप, लिचीका बिरुवा वितरण गर्न थालेको हो । विहादीमा आँप, लिची र कागती राम्रो उत्पादन हुने गरेको छ । यसका लागि किसानले न्यूनतम सुन्तला र कागती १५ बोट, आँप ५ बोट र लिचीका ७ बोट लगाउनुपर्ने प्रमुख प्रशासकीय अधिकृत भुसालले बताउनुभयो । पालिकाको दुध ढुवानीमा अनुदान कार्यक्रमअन्तर्गत प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान वितरण गरिने भएको हो ।
गाउँमा सञ्चालित कृषि फार्म वा व्यावसायिक किसानलाई प्रोत्साहन गरी कृषि पेसाबाटै आत्मनिर्भर बनाउन अनुदानमूलक कार्यक्रम ल्याइएको विहादी गाउँपालिकाका अध्यक्ष परबिन गुरुङले जानकारी दिनुभयो । पूरै अनुदान उपलब्ध गराउँदा किसानले बेवास्ता गर्ने भएकाले किसानको जम्मा २५ प्रतिशत र पालिकाको ७५ प्रतिशत लगानी गर्ने गरी अनुदान दिइने भएको हो ।
रासस
प्रतिक्रिया दिनुहोस