म्याग्दी/ देशका भिरपहरामा गरिने महसिकारमार्फत पर्यटन प्रवर्द्धनको अवधारणाले प्राथमिकता पाउन थालेको छ । वसन्तयाम लागेपछि देशभरका भिरपहरामा महसिकार गरेर आयआर्जन तथा पर्यटन प्रवर्द्धन दुवै कामको विकास हुन थालेको हो ।
अक्करे भिरमा जोखिम मोलेर गरिने महसिकार वसन्तयाममा धवलागिरि चक्रीय, गुर्जा र ढोरपाटन क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि आकर्षण बनेको छ । यसका साथै भिरमह बिक्री गरेर सिकारीहरूले केही रकम पनि आर्जन गरिरहेका छन् । धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले महसिकार अवलोकन गर्न पर्यटक आउने र मह खरिद गर्न उपभोक्ता जंगलमै पुग्न थालेपछि ग्रामीण क्षेत्रको आयआर्जनमा सहयोग पुगेको बताउनुभयो ।
केही दिनअघि मंगला गाउँपालिका– १ थाइवाङको भिरमा ३ सय लिटर मह निकालेका धवलागिरि गाउँपालिका– २ खोरियाका मोतीप्रसाद पाइजाको १० जनाको टोलीले मंगलबार खोरियाको महभिरमा ३० लिटर मह निकालेको छ ।
स्वाँतमा लोकबहादुर पाइजाको टोलीले ७० लिटर मह निकालेको जनाएको छ । स्वाँतको भिरमा बुधवार पनि महसिकारलाई निरन्तरता दिइने भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले महसिकार गरेर गाउँका बेरोजगारलाई रोजगारी र आयआर्जनको अवसर मिलेको बताउनुभयो ।
एउटा महसिकार टोलीमा कम्तीमा १० जना सहभागी हुन्छन् । म्याग्दीका महसिकारीलाई कास्की, बागलुङबाट पनि ज्याला दिएर बोलाउने गरेका छन् । भिरमा मौरीले लगाएका गोला काट्नका लागि महसिकारी डोरीमा झुन्डिएर मह निकालिने खोरियाको मह सिकारी टोलीका सदस्य सबहादुर चोचांगी पुनले बताउनुभयो ।
वसन्त र शरद ऋतु महसिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसीमा र शरदमा लेकमा भिरमह निकाल्न उपयुक्त समय हो । म्याग्दीमा भिरमह प्रतिलिटर २ हजार ५ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्मका दरले बिक्री हुने गर्छ ।
स्वादिलो, स्वास्थ्यका लागि हितकर र शक्तिप्रवर्द्धक हुनुका साथै धार्मिक कार्यका लागि प्रयोग हुने मह भिरबाट ननिकाल्दै अग्रिम पैसा दिएर ग्राहकले खरिद गर्ने गरेका अन्नपूर्ण– ५ स्वाँतका महसिकारी लोकबहादुर पाइजाले बताउनुभयो । स्थानीय सामुदायिक वन समूहलाई कर तिरेर निकालिने भिरमह निकासी गर्न डिभिजन वन कार्यालयबाट अनुमति लिनुपर्छ ।
प्रतिक्रिया दिनुहोस