झापा/ कचनकवल गाउँपालिकाले यहाँका ५ सय परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको छ । गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले निःशुल्क स्वास्थ्य बिमा गरिदिएको हो ।
गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालू आर्थिक वर्षमा ५ सय परिवारको निःशुल्क बिमा गरिएको जानकारी दिनुभयो । ‘अघिल्लो वर्ष १ हजार परिवारको बिमा गरेका थियौँ,’ उहाँले भन्नुभयो, ‘यहाँ आर्थिक रूपले विपन्न परिवारको बसोवास धेरै छ, उहाँहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य बिमालाई प्राथमिकतामा राखेको छ ।’
गत वर्ष गरिएका १ हजार परिवारले नवीकरण गर्दा बिमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उहाँले बताउनुभयो । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बिमा गर्ने गरेको छ ।
कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत ५ करोड ९५ लाख रुपैयाँभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताउनुभयो । गाउँपालिकामा ४ हजार ३ सय ४ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । यो चालू आवको चौथो त्रैमाससम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या रहेको गाउँपालिकाले जनाएको छ ।
सरकारले प्रदान गर्ने आठवटा ‘क्लस्टर’का १ हजार ७ सय ४१ पुरुष र २ हजार ५ सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
रासस
प्रतिक्रिया दिनुहोस