काठमाडौँ/ निजी क्षेत्रको टेलिकम्युनिकेसन सेवा प्रदायक कम्पनी एनसेलले ‘फाइभजी भिजन’मा आधारित एनसेल ‘सधैँ अन’ योजना सार्वजनिक गरेको छ । कम्पनीले सेवाग्राहीलाई सधैँ इन्टरनेटको पहुँचमा राख्ने उद्देश्यले उक्त योजना ल्याएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभले नेपाली ग्राहकको डेटा उपयोग गर्ने व्यवहारलाई विश्वका अन्य मुलुकसरह बनाउँदै डिजिटलाइजेसनमा योगदान पुगोस् भन्ने उद्देश्यले नयाँ योजना सार्वजनिक गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपभोक्ताका आवश्यकता परिवर्तन हुँदैछन् । धेरै मोबाइल फोन प्रयोगकर्ताले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैंकिङ कारोबारलगायत अनलाइनबाटै गर्ने भएकाले सधैँ इन्टरनेटमा पहुँच पुगोस् भनेर योजना ल्याएका हौँ ।’
योजनाको मुख्य उद्देश्य नेपाली सेवाग्राहीलाई ‘फाइभजी’का लागि तयार पार्नु रहेको सिइओ कायुमोभले बताउनुभयो । विज्ञप्तिमा भनिएको छ, ‘फाइभजी ताररहित प्रविधिको भविष्य हो । यसले व्यवसाय र अर्थतन्त्रले कसरी काम गर्छ भनेर क्रान्तिकारी परिवर्तन गर्नेछ । ६० भन्दा बढी देशमा यो प्रविधि पहिले नै आइसकेको छ । भारतपछि नेपाल व्यावसायिक रुपमा फाइभजी सञ्चालनमा ल्याउने दक्षिण एसियाको दोस्रो मुलुक बनोस् ।’
फाइभजी केवल द्रुत इन्टरनेट मात्र नभई अत्याधुनिक प्रविधिको परिचय गराउने क्षमता रहेको भन्दै यसले कृषि, स्वास्थ्य शिक्षा, पर्यटनलगायत क्षेत्रहरुको विकासमा महत्वपूर्ण प्रभाव पार्ने जनाइएको छ । योसँगै सरकारले लिएको डिजिटल नेपालको अवधारणालाई मार्ग प्रशस्त गर्ने कम्पनीले जनाएको छ ।
योजना अन्तर्गत कम्पनीले बेसिक, बेस्ट र अनलिमिटेड गरी ३ समूहमा ८ वटा विभिन्न योजना सञ्चालनमा ल्याएको छ । ७ दिनको समयसिमा रहेको ९८ रुपैयाँबाट सुरु हुने योजनादेखि २८ दिन समयावधि रहेको १ हजार ४ सय ९९ पर्नेसम्मको विभिन्न योजना रहेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस