२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

५ वर्षमा आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य



  • आफ्नै खबर
  • २ जेठ २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १२९
  • काठमाडौँ/   आगामी ५ वर्षमा देशको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको छ । राष्ट्रिय योजना आयोगले बुधवार सार्वजनिक गरेको सोर्हौं योजनाको लक्ष्यअन्तर्गत आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्याउने लक्ष्य राखिएको हो । 

    योजना आयोगका प्रवक्ता यमलाल भुसालले सोर्हौं योजनाको बारेमा प्रस्तुतिकरण गर्दै आर्थिक वृद्धिदर बढाउने लक्ष्य रहेको बताउनुभयो । उहाँका अनुसार  आव २०७९/८० मा करिब ३.९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०८५/८६ सम्म ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य छ । 

    उहाँका अनुसार प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने लक्ष्य रहेको छ । सार्वजनिक सोर्हौं योजनाका लक्ष्य अनुसार गरिबीको रेखामुनि रहेको जनसङ्ख्या (निरपेक्ष गरिबी) २०.३ प्रतिशतबाट १२ प्रतिशतमा झार्ने लक्ष्य रहेको छ । 

    यसैगरी उपभोक्ता मुद्रास्फीतिदर ७.७ प्रतिशतबाट ५ प्रतिशतमा झर्ने लक्ष्य रहेको छ । तथ्याङ्क अनुसार मानव विकास सूचनाङ्क ०.६०१ बाट बढाएर ०.६५ पुर्‍याउने लक्ष्य रहेको छ । मानव सम्पत्ति सूचकाङ्क ७६.३ बाट ७८ पुर्‍याउने लक्ष्य रहेको छ । आर्थिक तथा वातावरणीय जोखिम सूचकाङ्क २९.७ बाट २४ मा झार्ने लक्ष्य पनि तय भएको छ । 

    यसैगरी अपेक्षित आयु ७१.३ बाट ७३ वर्ष पुर्‍याउने लक्ष्य रहेको छ । ३० मिनेटको दुरीमा स्वास्थ्य संस्थामा पहुँच भएको परिवार ७७ बाट ९० प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । उच्च मध्यमस्तरको खानेपानीको पहुँच भएको घरपरिवार २५.८ बाट ४५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । साक्षरता दर ७६.२ बाट ८५ प्रतिशत पुर्‍याउने लक्ष्य रहेको छ । सोर्हौं योजना कार्यान्वयन गर्नका लागि अनुमानित लगानी करिब १ सय ११ खर्ब लाग्ने अनुमान छ ।