२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

चेपाङ बस्तीमा ‘एक घर, एक धारा’



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (१२ महिना अघि)
  • पाठक संख्या ८७
  • चितवन/   इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’ अभियानअन्तर्गत सञ्चालित खानेपानी आयोजना सम्पन्न भएको छ । चेपाङ समुदायको बसोबास रहेको छापडाँडाका ५५ घरमा धारा जडान भएको आयोजनाको बुधबार गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले उद्घाटन गर्नुभएको हो । 

    त्यस अवसरमा अध्यक्ष गुरुङले बाँकी रहेका चेपाङ बस्तीमा पनि चाँडै धारा जडान हुने बताउनुभयो । उहाँले गाउँपालिकाले सबै वडामा यो अभियान सञ्चालन गरिरहेको भन्दै चेपाङ बस्तीलाई पहिलो प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । छापडाँडा खानेपानी योजना सम्पन्न भएपछि पानी डोकोमा बोक्ने दिनको अन्त्य भएको उहाँको भनाई थियो । 

    गाउँपालिका, स्थानीय उपभोक्ता र वाइन टु वाटर नेपाल नामक संस्थाको साझेदारीमा खानेपानी आयोजना सम्पन्न भएको हो । करिब ९० करोड रुपैयाँ कूल लागतको आयोजना निर्धारित समयभन्दा अघिनै सम्पन्न भएको अध्यक्ष गुरुङले बताउनुभयो । साझेदारी संस्थाको ६५ प्रतिशत लगानी, गाउँपालिकाको २५ प्रतिशत लगानी र स्थानीयवासीको १० प्रतिशत श्रमदानबाट आयोजना सम्पन्न भएको हो । 

    चेपाङ बस्तीमा सडक, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको जनाउँदै अध्यक्ष गुरुङले परिवार सुधार कार्यक्रमअन्तर्गत बस्तीलाई गाउँपालिकाले चेपाङ समुदायको उत्थानका निम्ति सक्दो सहयोग गरिरहेको बताउनुभयो । यहाँ ५५ घर का साथै समुदाय र विद्यालयमा पनि एक÷एक वटा धारा जडान गरिएको छ । ७ किलोमिटर टाढा रहेको मुहानबाट ल्याइएको पानीको ट्याङ्कीबाट सोह्र घरपरिवारलाई लिफ्ट प्रविधिबाट पानी पुर्याइएको छ । यहाँ रहेका २३ घर परिवारका लागि शौचालय पनि निर्माण गरिएको छ । 

    गाउँपालिकाका अन्य ठाउँमा पनि खानेपानीको योजना निर्माणको चरणमा रहेको गाउँपालिका उपाध्यक्ष माया सिलवालले जानकारी दिनुभयो । वडा नम्वर १ को चौकीडाँडा र वडा नम्बर ७ को दाहाखानी दुवै ठाउँमा लिफ्टिङ प्रविधिबाट खानेपानी योजना कार्यान्वयनमा रहेको उहाँले बताउनुभयो । 

    वाइन टु वाटरकी राष्ट्रिय निर्देशक रोशनी कार्कीले त्रिपक्षीय साझेदारीमा गरिएको काम समयमै सम्पन्न भएकामा प्रशन्नता प्रकट गर्दै आधारभूत सुविधामा पहुँच नपुगेका समुदायको जीवनस्तर उठाउन आफ्नो संस्था क्रियाशील रहेकोे बताउनुभयो ।