१५ साउन २०८२ बिहिबार | 31 Jul 2025 Thu

बैतडीबाट कफीखेती रोपण शुरू



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ११९
  • बैतडी/  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बैतडीबाट व्यावसायिक कफीखेतीको शुभारम्भ गर्नुभएको छ । मन्त्री भण्डारीले पाटनमा कफीखेती रोपण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । 

    उहाँले कफीखेतीको विकास, प्रशोधन र प्रवर्द्धन गरी आयआर्जन तथा गरिबी न्युनिकरणमा ठोस उपलब्धि हासिल गर्न यस कार्यक्रमबाट टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘बैतडी जिल्ला विभिन्न कृषि, वन पैदावार र खनिज तथा खानीजन्य पदार्थको सम्भावना हुँदाहुँदै पनि संघीय सरकारले यथोचित ध्यान दिन नसकेको ठाउँ हो । हामी त्यो अवस्था बदल्न लागेका छौं ।’

    मन्त्री भण्डारीले आफ्नो मन्त्रालयअन्तर्गत सुदूरपश्चिम, कर्णाली र देशका अन्य सम्भावना बोकेका तर पिछडिएका भेगमा कार्यक्रम सञ्चालन गर्न जोड दिँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यसै सन्दर्भमा, बैतडीमा प्रशस्त सम्भावना बोकेका वस्तुको विकास, प्रविधि हस्तान्तरण, मुल्य श्रृङ्खला विकासमा काम गर्न मन्त्रालयले कार्य प्रारम्भ गरेको छ ।’  

    नेपालमा कफीको माग विस्तार भइरहेको उल्लेख गर्दै मन्त्री भण्डारीले मागको सबै आपुर्ति घरेलु उत्पादनबाट हुन नसकेको बताउनुभयो । अन्तर्राष्ट्रिय बजारको मागअनुसार कफी निर्यात हुन नसकेको उहाँको भनाइ थियो । 

    उहाँले भन्नुभयो, ‘बजारको समस्या खासै नभएको नेपाली कफीको उत्पादनलाई व्यावसायिक र परिमाणयुक्त बनाउन आवश्यक छ । मल, बीउ, सिँचाइ र सीपबाट उत्पादन, उत्पादकत्व र गुणस्तर बढाउन मेहनत गरी लाग्न आग्रह गर्दछु । आगामी दिनमा स्थानीय तह, प्रदेश सरकार, चिया तथा कफी विकास बोर्ड र विकास साझेदारबाट मन्त्रालयको एकीकृत व्यापार रणनीति २०८० बाट निर्यात योग्य वस्तुको रुपमा पहिचान भएको कफीखेतीको विकासमा सक्रिय सहभागिता रहने विश्वास गर्दछु ।’

    युरोपियन युनियनको प्राविधिक तथा आर्थिक सहयोगमा नेपालमा यस वर्षदेखि कफीखेती शुभारम्भ गर्ने कार्यक्रमअन्तर्गत बैतडीबाट यस कार्यक्रमको शुभारम्भ गरिएको मन्त्रालयले जनाएको छ । बैतडीबाट यस कार्यक्रमको सुरुआत गरिएको र देशका अन्य जिल्लामा पनि यो कार्यक्रमको थालनी गरिने जनाइएको छ ।

    रासस