१६ असार २०८२ सोमबार | 30 Jun 2025 Mon

चुरे विनाशको असर : खानेपानीको समस्या विकराल बन्दै



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या ११२
  • तराई–मधेसका जिल्लाहरुमा लोकमार्गदेखि दक्षिणी भेगमा हातेकल सुक्न थालेपछि व्यापकरुपमा खानेपानीको समस्या देखिन थालेको छ । तराई–मधेस क्षेत्रमा खानेपानीका लागि सबैभन्दा चल्तीको साधन हातेकल हो । चैतदेखि सुरू भएको चापाकल सुक्ने समस्या वैशाखसम्ममा विकराल बनेको छ । 

    मधेश प्रदेशको राजधानी जनकपुरधाममा ४० हजार ४ सय घर परिवारमध्ये खानेपानी सस्थानले २५ वटा वडामध्ये १४ वटा वडाका ४ हजार ६ सय ८५ घरमा मात्र धारा जडान गरेको छ । जडान गरेको धारामध्ये ४४ प्रतिशत जति घरमा आंशिक रुपमा मात्र पानी आउने गरेको छ ।

    चापाकल सुक्ने समस्या बढ्दै गएपछि धनुषाको क्षीरेश्वरनाथ नगरपालिकालगायत स्थानीय तहले बढी सङ्कट देखिएका स्थानमा ट्याङ्करबाट पानी बाँडिरहेका छन् । मोटर जडान गरिएर खानेपानीका लागि पर्याप्त पानी उपलब्ध हुने दक्षिणी भेगमा देखिएको समस्याको समाधान नभए विकराल परिस्थिति आउने स्थानीयको चिन्ता छ ।

    यता मधेस प्रदेशको राजधानी जनकपुरधाममा नै खानेपानीको अभाव देखिन थालेको छ । जनकपुरधाम नगर क्षेत्रमा दैनिक २ करोड ५० लाख लिटर पानीको माग रहे पनि खानेपानी संस्थान जनकपुरधामले पाइपमार्फत दैनिक ३० लाख लिटर पानी मात्र आपूर्ति गर्दै आएको छ । यसरी संस्थानले १२ प्रतिशत घरमा मात्र पाइपमार्फत पानी आपूर्ति गर्दै आइरहेको र ८८ प्रतिशत घरधुरी अहिले पनि खानेपानीको पहुँच बाहिर रहेको देखिन्छ ।

    सुक्खायाममा यहाँका चापाकलहरु सुक्ने तथा खानेपानी संस्थानले सबै ठाउँमा पानीसमेत पुर्याउन नसकिरहेको अवस्थामा जनकपुरधाममा निकट भविष्यमै खानेपानीको गम्भीर समस्या उत्पन्न हुने सर्वसाधारणको भनाइ छ । मधेश प्रदेशको राजधानीमै खानेपानीमा समस्या देखिए पनि यस विषयमा प्रदेश सरकार गम्भीर नदेखिएको स्थानीयवासीको गुनासो छ । 

    राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार मधेश प्रदेशको राजधानी जनकपुरधाममा ४० हजार ४ सय घर परिवारमध्ये खानेपानी सस्थानले २५ वटा वडामध्ये १४ वटा वडाका ४ हजार ६ सय ८५ घरमा मात्र धारा जडान गरेको छ । जडान गरेको धारामध्ये ४४ प्रतिशत जति घरमा आंशिक रुपमा मात्र पानी आउने गरेको छ । जडान भएको धारामध्ये ५६ प्रतिशतमा मात्रै पूर्णरुपमा पानी आउने गरेको संस्थानका प्रमुख विष्णुदेव साह बताउनुहुन्छ । 

    संस्थानले जनकपुरधाम–१० र रामानन्द चोकमा निर्माण भएको ४ लाख ५० हजार क्षमताका दुईवटा ओभरहेड ट्याङ्कीमा ६ वटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण गरिरहेको छ । तर ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण ठाउँठाउँमा पाइप फुटेको, चर्केको र जीर्ण रहेकोले धेरै ठाउँमा खानेपानी पु¥याउन नसकिएको प्रमुख साहले बताउनुभयो । सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपका कारण सबै वडामा खानेपानीको आपूर्ति गर्न सकेको छैन । करिब ५० प्रतिशत मात्रै नियमित रुपमा पानी आपूर्ति हुने गरेको छ ।

    संस्थानले चालु आर्थिक वर्षमा १ करोड ३० लाख रुपैयाँबराबरको लागतमा थप ५ लाख लिटर क्षमताको ट्याङ्की कार्यालय परिसरमा निर्माण गर्दैछ । ४ करोड रुपैयाँभन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीदेखि वडा नंं ८ को होटल सियाशरणसम्म ६ लेन सडक छेउमा ७ किलोमिटर लामो सडकको दायाँबायाँ ८/८ इन्चको पाइप बिछ्याउने कार्य गरिरहेको छ । सीमित स्रोतसाधन भए पनि संस्थाले ५ लाख लिटर पानी भण्डारण हुने र चालु आर्थिक वर्षमा थप १ हजार धारा जडान गर्ने लक्ष्य लिएको छ ।

    यसकारण सुक्दैछ हातेकल
    जलस्रोत विज्ञहरूले चुरेको दोहन र लामो समयदेखि पानी नपरेका कारण भूमिगत पानी पुनर्भरण नभएकाले हातेकलहरूमा पानी नआएर खानेपानीका लागि समस्या उत्पन्न भएको बताएका छन् । चुरेविज्ञ डा. विजयसिंह दनुवार मधेस–प्रदेशमा हाल देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एकमात्र विकल्प प्राकृतिक पुनर्भरणका लागी चुरे क्षेत्रको संरक्षण नै दिगो समाधान भएको वताउनुहुन्छ । 

    अव्यवस्थित शहरीकरण र उद्योगीकरण, पोखरी, कुवा, इनार मासिनु, नदी अतिक्रमण हुनु, जग्गाको जथाभावी चक्लाबन्दी, वृक्षरोपणका तुलनामा रूख काट्ने दर बढी हुनु, वर्षात्को पानी संरक्षण गर्न नसक्नु र जलवायु परिवर्तनलाई पनि विज्ञहरूले पानी सङ्कट बढ्नुको कारण औंल्याउँदै आएका छन् ।

    डा. सिंहले पानीको समस्या समाधानका लागि राज्यले खास गरी मधेस प्रदेश सरकारले अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना निर्माण गरी अघि बढ्नुपर्ने सुझाव दिनुभयो । मधेस प्रदेश चुरे संरक्षण र विकास अनुसन्धानविज्ञ नागदेव यादवले दीर्घकालीन समस्या समाधानका लागि जलस्रोत क्षेत्रका विज्ञहरूले वृक्षरोपण, चुरेक्षेत्रको संरक्षण र मधेश प्रदेशको हाइड्रो जियोलोजिक सर्भे गरी प्रदेश सरकारले कार्यक्रमहरू तयार गर्नुपर्ने सुझाव दिनुभएको छ । उहाँले वर्षाको पानी जम्मा गरी ग्राउन्ड वाटर रिचार्ज गर्ने जस्ता कार्यक्रम निर्माण गर्न मधेस सरकारलाई सुझाव दिनुभयो । 

    चुरे विज्ञ विजयसिंह दनुवार भन्नुहुन्छ, ‘खोलामा जहाँसम्म राम्रो गिट्टी–बालुवा पाइन्छ, खोतल्ने रहेछन् । १०औँ ठाउँमा खन्दा पानी रिचार्ज हुन नपाई बहावलाई असर पार्दो रहेछ ।’ उहाँले चुरे र भावर क्षेत्रमा पोखरी वा बाँध बनाएर तराईमा पानी सङ्कट टार्न सकिने सुझाव दिँदै भन्नुभयो, ‘जसरी भारतले कोशी, नारायणी, महाकाली र गण्डकीलाई बाँधेर आफूलाई चाहिएको ठाउँ र समयमा पानी लैजान्छ । चुरे र भावर क्षेत्रका नदी–खोलामा पनि ड्याम बनाएर पानी जमाउन सकिन्छ ।’

    चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना २०७४ अनुसार पूर्वदेखि पश्चिमसम्मकै तराईमा घरायसी प्रयोजन तथा सिँचाइमा जमिनमुनिको पानी प्रयोग हुँदै आएको छ । पानीको सतह घटबढ हुनुमा चुरे तथा भावर क्षेत्रमा हुने वर्षाको परिमाण, जमिनको सोस्ने क्षमता, गिटी–बालुवाको उत्खनन्को परिणाम र प्रक्रिया आदिको प्रभाव रहन्छ ।

    चुरे क्षेत्रमा भइरहेको वन विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहनको असर भावर र तराईमा परिरहेको छ । चुरेबाट बगेर आउने गिट्टी–बालुवाले खोलाको सतह उचो हुँदा भावर र तराईमा भूमिगत जल सतह गहिरिंदै छ । अव्यवस्थित शहरीकरण र उद्योगीकरण, पोखरी, कुवा, इनार मासिनु, नदी अतिक्रमण हुनु, जग्गाको जथाभावी चक्लाबन्दी, वृक्षरोपणका तुलनामा रूख काट्ने दर बढी हुनु, वर्षात्को पानी संरक्षण गर्न नसक्नु र जलवायु परिवर्तनलाई पनि विज्ञहरूले पानी सङ्कट बढ्नुको कारण औंल्याउँदै आएका छन् ।

    चुरे र तराईबीचको करीब ५ किमि समानान्तर क्षेत्रलाई भावर भनिन्छ । तराईमा भूमिगत रूपमा जाने पानीको पुनर्भरण यही क्षेत्रमा हुने गर्छ । भावर क्षेत्रमा शहरीकरण र उद्योगीकरण जस्ता मानवीय हस्तक्षेप बढ्दा पुनर्भरणको प्रक्रियामा असर परेको नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ डा. दिनेशराज भुजु बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘परम्परागत इनार, कुवा, पोखरी मासेर ट्यूबवेलमा भर पर्न थालियो, ट्युबवेल कति दूरीमा गाड्ने भन्ने मापदण्ड पनि पालना गरिएको छैन ।’

    नीति काठमाडौंबाटै बन्नुपर्छ । प्रदेशले सहजीकरण र पालिकाले कार्यान्वयन गर्नुपर्छ । चुरे मधेस प्रदेशमा मात्र पर्दैन । यस्तोमा सङ्घले दुई प्रदेशबीच समन्वय गराइदिनुपर्ने हुन सक्छ ।

    भूगर्भविद् कमल दवाडी जमिनमुनिको पानी जति पनि झिके हुन्छ भन्ने सोचले समस्या निम्त्याएको बताउनुहुन्छ । ‘भूमिगत पानी भण्डारण हुने पनि चक्र हुन्छ, चुरेको पानी तराई पुग्न समय लाग्छ’, दवाडी भन्नुहुन्छ, ‘यस्तोमा हामीले रिचार्जतिर सोचेनौँ । संरचना बनाउँदा पनि सतहमा कङ्क्रिट बिछ्याएर जमिनमा पानी छिर्ने ठाउँ नै दिंदैनौँ ।’

    वरिष्ठ पत्रकार मधेस मामिलाका जानकार चन्द्रकिशोरले समस्या समाधानको लागि तीन तहको सरकारको एकीकृत सोचाइ हुनुपर्ने बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘यो पालिकाले मात्र चाहेर समाधान हुने विषय होइन । नीति काठमाडौंबाटै बन्नुपर्छ । प्रदेशले सहजीकरण र पालिकाले कार्यान्वयन गर्नुपर्छ । चुरे मधेस प्रदेशमा मात्र पर्दैन । यस्तोमा सङ्घले दुई प्रदेशबीच समन्वय गराइदिनुपर्ने हुन सक्छ ।’

    पानी नहुँदा मान्छेको बसाइँसराइ हुनेक्रम बढ्न थालेको छ । सिरहामा कमला नदीदेखि लहानसम्म राजमार्गभन्दा उत्तरतिरका बस्तीमा गाईबस्तु पाल्न कम भएको छ । आर्थिक स्रोत बलियो भएकाहरू पानी भएको ठाउँमा सर्न थालेका छन् भने विपन्न समुदायका मानिसको जनजीवन निकै कष्टकर बन्दै गएको छ । पानीकै कारण मानिसहरू ‘वातावरणीय शरणार्थी’ बन्नुपर्ने अवस्था आउनसक्ने उहाँको भनाइ छ ।

    रासस का लागी अजयकुमार साह