२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

ताप्लेजुङ पर्यटन महोत्सव सुरु

कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, डोको क्यारी रन, टपरी बुन्ने, डोको बुन्ने, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने



  • आफ्नै खबर
  • ३ जेठ २०८१ बिहिबार (१ बर्ष अघि)
  • पाठक संख्या १८०

  • ताप्लेजुङ/  पर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । जेठ ७ गतेसम्म सञ्चालन हुने महोत्सव पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय कला, संस्कृति तथा वस्तुको प्रचारप्रसार गर्ने उद्देश्य सहित सुरु गरिएको हो । 

    जिल्ला तथा नेपालकै प्रसिद्ध तीर्थस्थल पाथीभरा, कञ्चनजङ्घा, फुङफुङेलगायत पर्यटकीय स्थानको प्रचारप्रसार तथा पहिचानका लागि महोत्सव अयोजना गरिएको महोत्सव सञ्चालन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख छिरिङ लामाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विसं २०६३ देखि सञ्चालन भएको पाथीभरा म्याराथन तथा पर्यटन महोत्सव कोरोनाका कारण बीचमा २ वर्षसम्म हुन सकेन ।’

    यस वर्ष विगतका वर्षमा झै म्याराथन हुने सञ्चालक समितिका सदस्यसचिव देवराज गुरुङले बताउनुभयो । उहाँका अनुसार आज पहिलो दिन उद्घाटन र अन्तरपालिकास्तरीय चौथो मेयरकप भलिबल प्रतियोगिता हुनेछ ।

    महोत्सवमा कृषिमेला प्रदर्शनी, औद्योगिक हस्तकला, खाद्य परिकार महोत्सव, डोको क्यारी रन (पुरुष), टपरी बुन्ने, डोको बुन्ने, वक्तृत्वकला प्रतियोगिता, लोक सांस्कृतिक कार्यक्रम गरिने आयोजक समितिका संयोजक लामाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याराथन दौड तथा हाफ महिला म्याराथन दौडसमेत हुनेछ ।

    पाथीभरा म्याराथन, पर्यटन महोत्सव तथा विभिन्न कार्यक्रमका लागि करिब ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको गुरुङले बताउनुभयो । पर्यटन मन्त्रालय र पर्यटन बोर्डबाट २० लाख रुपैयाँबजेट माग गरिएको भन्दै बाँकी रकम विभिन्न दाता सङ्घसंस्थाबाट जुटाइने उहाँको भनाइ छ ।

    रासस