काठमाडौँ/ मानवसेवा आश्रम सहयोगार्थ १ करोड ५० लाख रुपैयाँ जुटाएर वरिष्ठ समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा नेपाल फर्किनुभएको छ । सङ्गीतको माध्यमबाट विश्वभर शान्तिको सन्देश छर्दै आउनुभएकी आनी छोइङ डोल्मा मानवसेवा आश्रमको २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्पलाई सघाउन बेलायत पुग्नुभएको थियो ।
वैशाख २३ गते बेलायतको क्याम्वर्लीस्थित कन्ट्री क्लवको हलमा आयोजित ‘इनर मेलोडी फर इनर पिस लाइभ कन्सर्ट’ र त्यसलगतै विभिन्न स्थान आयोजना भएको ‘मिट एण्ड ग्रिट’ कार्यक्रमबाट मानवसेवा आश्रमको सेवा सहजताका लागि सो सहयोग जुटेको गायिका आनी छोइङ डोल्माले बताउनुभयो । मानवीय कार्यमा आश्रमसँग सहयात्रा गर्न र मानवता प्रवद्र्धनमा सघाउन पाएकोमा खुसी व्यक्त गर्दै उहाँले आगामी दिनमा समेत आश्रमसँग मानवीय कार्यमा सहयात्रा गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सङ्कलित रकममध्ये ५२ लाख रुपैयाँ टिकट विक्रीबाट, २० लाख रुपैयाँ स्पोन्सरबाट र ८ लाख ४१ हजार रुपैयाँ उहाँको अटोवायोग्राफी पुस्तक ‘फूलको आँखामा’ विक्रीबाट संकलन भएको छ । यस क्रममा ५ जनाले मानवसेवा आश्रमले नेपालको विभिन्न जिल्लामा निर्माण गरिरहेको भवननिर्माणको लागि एक कोठा निर्माण सहयोग स्वरुप ५ लाख ११ हजार रुपैयाँ र ३२ जनाले आजीवन वार्षिक भोजनसेवा सदस्यता ग्रहण गरी मानवसेवा आश्रमको अक्षयकोष वृद्धिका लागि १ लाख ११ हजार एक सय ११ रुपैयाँ योगदान गर्नुभएको छ । यस्तै मासिक ८ हजार रुपैयाँ योगदान गर्ने गरी १७ जना बालबालिकाको र मासिक ५ हजार रुपैयाँ योगदान गर्ने गरी ५ आमाबुबाको मासिक खर्च व्यहोर्ने हुनुभएको छ ।
कन्सर्टसँगै बेलायतको नेपाली दूतावास, स्कटल्याण्डको ग्लास्गो र एडिनब्रा, अल्टरसट गुम्बा, रिडिङ गुम्बा र प्लम्स्टिड गुम्बा, शिव मन्दिर अल्डरसट र बेलायतमा रहेको श्रीलङ्काको दूतावासमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रम आयोजना भएको थियो । गायिका आनी छोइङको कन्सर्ट र बेलायत यात्राले मानवसेवा आश्रमको सेवा प्रवाहमा टेवा पु¥याउने मानवसेवा आश्रम बेलायत च्यापटर संयोजक सुनिलबाबु खड्काले बताउनुभयो ।
मानवसेवा आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले मानवसेवा आश्रम युके च्यापटरले सम्पूर्ण बेलायतबासी नेपालीहरुको मन जित्न सक्नेगरी कन्सर्ट आयोजना गरी लक्ष्य अनुसारकै सहयोग जुटाउन सकेकोमा धन्यबाद दिदै २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त देश घोषणा गराउन सबैको साथ र सहयोग आवश्यक पर्ने बताउनुभयो ।
मानवसेवा आश्रमले २०८२ सालभित्र नेपाललाई खुला आकाशमुनि सडकपेटी एवं सार्वजनिकस्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षी (बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने सङ्कल्प लिएको छ । उक्त संकल्पलाई पुरा गर्न देशको सात प्रदेशका १९ जिल्लामा २४ सेवा केन्द्र सञ्चालनमा ल्याई ७७ वटै जिल्लाबाट सहयोगापेक्षीहरुको उद्धार गर्दै आइरहेको आश्रमले हालसम्म १० हजार बढीको उद्धार गरी मानवोचित व्यवस्थापन गरिसकेको जनाइएको छ । हाल देशरभर रहेका आश्रमका सेवा केन्द्रहरुमा १ हजार ६ सय ५३ जना संरक्षणमा रहनुभएको उल्लेख छ ।
रासस
प्रतिक्रिया दिनुहोस