सप्तरी/ निर्माणाधिन रूपनी–छिन्नमस्ता सडकको काम तिव्र गतिमा सम्पन्न गराउन छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीको सक्रियता बढेको छ । सडक निर्माणको कामलाई चाँडै सम्पन्न गराउन बुधबार अध्यक्ष चौधरीले संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय, दमक (झापादेखि कमलासम्म)को प्रमुख सुई विनोद मौवारसँग छलफल गर्नुभएको हो ।
छलफलमा आयोजना प्रमुख मौवारले असार मसान्तभित्र काम सम्पन्न हुने बाचा गरेको पालिका अध्यक्ष चौधरीले जानकारी दिनुभयो । ‘टेन्डर भएको २ वर्ष भइसकेको छ, काम सुस्त गतिमा भइरहेको छ,’ उहाँले भन्नुभयो, ‘हिजै आयोजना प्रमुखसँग कार्यपालिका सदस्य, सडक डिभिजन कार्यालय लहानका कर्मचारी र ठेकेदारलाई राखेर छलफल गरेका छौँ ।’
सडकको काम पूरा भएसँगै छिन्नमस्तामा आन्तरिक तथा वाह्य पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुने अध्यक्ष चौधरीले विश्वास व्यक्त गर्नुभयो । ‘यो सडकले ऐतिहासिक धार्मिकस्थल छिन्नमस्ता शक्तिपीठ अवातजावतमा पर्यटकलाई सहज भई आन्तरिक तथा वाह्य पर्यटकको राम्रो संख्यामा वृद्धि हुन्छ,’ उहाँले भन्नुभयो, ‘यसले यहाँको स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्नेछ ।’
यसअघि उक्त सडक निर्माणको लागि पालिका अध्यक्ष चौधरीले भौतिक पूर्वाधारमन्त्री, मुख्य सचिव, सडक विभाग प्रमुखदेखि प्रधानमन्त्रीसमेतलाई ज्ञापनपत्र बुझाउनु भएको थियो । समयमा सडक निर्माण काम पूरा नभए र काम सुस्त गतिमै भइरहे पालिकाले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अधिकारको प्रयोग गरी अगाडि बढ्ने तयारीको बारेमा समेत आयोजना प्रमुखलाई छलफलमा सुनाइएको पालिका अध्यक्ष चौधरीले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस