२८ बैशाख २०८२ आईतबार | 11 May 2025 Sun

बनेपाका १ हजार घरमा ‘कौसीखेती’ प्रवर्द्धन



  • आफ्नै खबर
  • ४ जेठ २०८१ शुक्रबार (१२ महिना अघि)
  • पाठक संख्या ९४

  • काभ्रेपलाञ्चोक/   बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवर्द्धन गर्ने कार्यक्रमलाई तीव्रता दिएको छ । नगर कृषि शाखाले कौसीखेती तालिम सकेर कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाउन नगरको वडा नं. ७ बाट तालिम प्राप्त परिवारका महिलालाई आवश्यक सामग्री एवं बीउबिजन वितरण थालेको हो । 

    कौसीखेती प्रवर्द्धनका ३ वर्षको अवधिमा १ हजार परिवारका नागरिकलाई तालिम दिएको थियो । तालिमप्राप्त व्यक्तिका लागि कौसीखेती गराउने उद्देश्यले खेती गर्न आवश्यक पर्ने सामग्री क्रमशः वडागत रुपमा वितरण गर्दै जाने कृषि प्राविधिक कमला हुमागाईले बताउनुभयो । उहाँका अनुसार विशेष गरी नगरको सहरी क्षेत्रमा पर्ने वडा नं ४, ५, ६, ७, ८, ९, १० र १३ का १ हजार घर परिवारका लागि ग्रो–ब्याग ४ हजार थान, कम्पोष्ट मल २ हजार प्याकेट, कोकोपिट २ हजार, १ हजार हजारी र १ हजारलाई बीउबीजन वितरण गरिनेछ ।

    शाखाका अनुसार कौसीखेतीका लागि सबैभन्दा धेरै वडा नं. ८ मा ३ सय, ७ मा २ सय ७०, ९ का १ सय २५, ४ का ३०, ५ का ७५, ६ का २५, १० का ७५, १३ का ५० र अन्य ५० जना गरी १ हजार जनाले विभिन्न तरकारी एवं फलफूलका तालिम लिएका थिए । नगरले कौसीखेतीका लागि प्रोत्साहनस्वरुप निःशुल्क तालिम सुरु गरेसँगै १ हजार महिला यस खेतीमा आबद्ध भएका हुन् ।

    बनेपा–७ को जमुना घिमिरेले भन्नुभयो, ‘छोराछोरीलाई झोलामा हैन माटोमा तरकारी फल्छ भनेर सिकाउन पनि कौसीखेतीले सघाएको छ, खेतीमा चलाउमान भइरहँदा आफ्नो रोगलाई समेत कम गराएको छु ।’ उहाँले विशेष गरी आफ्नै कौसीमा साग, धनिया, मेथी, लट्टेको साग, लसुन, प्याजलगायत तरकारी फलाउने गरेको सुनाउनुभयो । 

    बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आफ्नै घरको छतमा फलेका तरकारी र फूल हेर्दा तनाव व्यवस्थापनमा सहयोगी हुने बनाउनुभयो । उहाँले भन्नुभयो, ‘कुहिने र नकुहिने फोहर व्यवस्थापन गरेर त्यसबाट मोहोर कमाउने योजनाअनुसार कौसीखेती कार्यक्रम सञ्चालन गरेका हौँ ।’ उपप्रमुख विमला सापकोटाले फुर्सदको समयमा कौसीखेतीमा ध्यान दिँदा तरकारीमा खर्च हुने पैसासमेत जोगिने बताउनुभयो । उहाँले खुर्सानी, कागती, धनिया, साग, काँक्रो, फर्सीको मुन्टा र पुदिना कौसीखेतीका मुख्य आकर्षण भएको बताउनुभयो । बनेपामा घर भएका तर जमिन नभएकालाई कौसीखेती उपयोगी भएको उहाँको अनुभव छ ।