२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

रसुवागढी नाकाबाट सवारी साधनको आयात बढ्दो



  • आफ्नै खबर
  • ४ जेठ २०८१ शुक्रबार (१२ महिना अघि)
  • पाठक संख्या ८७
  • रसुवा/   उत्तरी नाका रसुवागढीबाट आयात हुने चिनियाँ सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । ठूलो सङ्ख्यामा विद्युतीय कार र केही ठूला तथा मझौला सवारी साधन आयात हुने गरेको भन्सार कार्यालयको तथ्याङ्कले देखाएको हो ।

    चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म ४ हजार ७ सय ६ सवारी साधन आयात भएका छन् । तीमध्ये ४ हजार ६ सय ७९ विद्युतीय कार रहेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ ।

    मङ्सिरपश्चात् रसुवागढी नाकाबाट ५ हजार ८ सय ५० सवारी साधन भन्सार प्रक्रिया पूरा गरी आफ्नो गन्तव्यतर्फ प्रस्थान गरिसकेको कार्यालयका सूचना प्रविधि अधिकृत निर्मल कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार भन्सार क्षेत्रभित्र प्रवेश गरी काठमाडौँतर्फ प्रस्थान गर्नका लागि दर्जनौँ सवारी साधनले प्रक्रिया पुरा गरिरहेका छन् । 

    विद्युतीय कारको खरिद मूल्य भने चिनियाँ उत्पादक कम्पनीमा २८ लाख ५१ हजार रुपैयाँ र भन्सार शुल्क ११ लाख ९८ हजार रुपैयाँ पर्ने बताइएको छ । भन्सार कार्यालयले चालु आवमा नियमानुसारको दररेटबाट मनग्य कर असुली गरेको जनाएको छ । प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालु आवको नौ महिनामा १५ अर्ब ७७ करोड रुपैयाँ राजस्व असुली भएको हो । तुलनात्मक हिसाबले १ सय ६६ प्रतिशत राजस्व वृद्वि भएको उहाँले जानकारी दिनुभयो ।

    गत वर्षको यस अवधिमा ५ अर्ब ९४ करोड रुपैयाँमात्र असुली भएको थियो । ठूलो सङ्ख्यामा चीनबाट सवारी साधन आयात भएकाले चालु आवमा करबापतको राजस्व बढेको भन्सारका कर्मचारी बताउँछन् । 

    चालु आवको ९ महिनामा ४८ अर्ब ५९ करोड रुपैयाँबराबरको सामग्री आयात भएको थियो । आयातीत सामग्रीहरूमा साना–ठूला सवारी साधन, इलेक्ट्रीक सामान, जुत्ता, चप्पल, स्याउ, ओखरलगायत दैनिक उपभोग्य सामग्री रहेका भन्सार अधिकृत पाठकले जानकारी दिनुभयो । 

    सबैको प्रयासबाट राजस्वको असुली उत्साहजनक भइरहेको, व्यवसायीले सामान ल्याएर पालैपालो परीक्षणका लागि समन्वय गरिरहेकाले काम चाँडो भइरहेको कर्मचारीको भनाई छ । गत वर्षको तुलनामा ८९ प्रतिशतले आयात बढेको भन्सार तथ्याङ्कले देखाएको छ । 

    रासस