ताप्लेजुङ/ फुङ्लिङ नगरपालिकामा रहेको छिरिङ नेपाली हाते कागज उद्योगका सञ्चालक पासाङ लाक्पा शेर्पा अधिकांश समय आफ्नै उद्योगमा कागज बनाउने काममा व्यस्त भेटिनुहुन्छ । पुख्र्यौली पेसाका रुपमा शेर्पाले नेपाली हाते कागज बनाउने काम गर्दै आउनुभएको हो ।
उहाँका बुबाले कागज बनाउने काम गर्नुहुन्थ्यो । कागज उद्योगमा हुर्किनुभएका उहाँले पनि बुबाआमालाई सघाउँदा सघाउँदै कागज बनाउने सीप सिक्नुभयो । शेर्पाको पुख्र्यौली घर भोजपुर हो । उहाँले २०४९ सालमा तेह्रथुमको वसन्तपुर क्षेत्रमा कागज उद्योग सञ्चालन गर्नुभयो ।
त्यसपछि ताप्लेजुङको याम्फुदिन, खेवाङ क्षेत्रमा कागज उद्योग सञ्चालन गर्नुभयो । २०६१ सालमा ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नजिकै छिरिङ हाते कागज उद्योग दर्ता गरेर अहिले सञ्चालन गर्दै आउनुभएको हो । अहिले उहाँको कागज उद्योगमा १० जनाले रोजगारी पाएका छन् ।
कागज उद्योगबाट खर्च कटाएर वार्षिक १२ लाख रुपैयाँ आम्दानी हुने गरेको शेर्पाले बताउनुभयो । उद्योगकै आम्दानीले छोराछोरीको पढाइमा खर्च गरी बचतबाट सदरमुकाममा जग्गा खरिद गर्नुभएको छ । अहिले उहाँ घर बनाउने तयारीमा हुनुहुन्छ ।
शेर्पाको उद्योगको उत्पादन ९० प्रतिशत काठमाडौँ हुँदै जापान, चीन, जर्मनलगायत देशमा निर्यात हुने गरेको छ । जिल्लाका सरकारी तथा गैरसकारी कार्यालयलाई वार्षिक ४ लाख रुपैयाँ बराबरको कागज बिक्री गर्ने गरेको शेर्पाले बताउनुभयो ।
शेर्पाले घरेलु कार्यालयमा उद्योग दर्ता गरी नेपाली कागज उत्पादन गरेको ५ वर्ष भइसकेको छ । ‘कागज जति उत्पादन गरे पनि बिक्रीका लागि समस्या छैन’, उहाँले भन्नुभयो, ‘बरु कागज उत्पादनका लागि कच्चापदार्थको अभाव हुने गरेको छ ।’
उद्योगमा १० ग्राम, २० ग्राम, ३० ग्राम र ४० ग्राम तौलका कागज उत्पादन हुने गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार २० ग्राम कागजको प्रतिपन्ना २० रुपैयाँ र ४० ग्राम कागजको प्रतिपन्ना ४० रुपैयाँमा ठूला उद्योगले खरिद गरेर लैजान्छन् । शेर्पाको उद्योगबाट गर्मी मौसममा दैनिक १ हजार ६ सय थान र जाडो मौसममा ८ सय थानसम्म कागज उत्पादन हुनेगर्छ ।
‘जाडो मौसममा सुक्न अलिक समय लाग्ने भएकाले गर्मी मौसममा भन्दा कम उत्पादन हुन्छ’, शेर्पाले भन्नुभयो, ‘गर्मी मौसममा बढीमा ३ घण्टाभित्र जालीमा राखेको लेदो सुकेर कागज तयार हुन्छ तर जाडामा सुक्न ५ घण्टा लाग्छ ।’
घरेलु तथा साना उद्योग कार्यालय ताप्लेजुङका अनुसार ताप्लेजुङमा १९ वटा नेपाली हाते कागज उद्योग दर्ता भएकामा केही मात्र सञ्चालनमा छन् ।
रासस
प्रतिक्रिया दिनुहोस