डोल्पा/ डोल्पा जिल्ला अस्पतालको आधुनिक भवन निर्माण सम्पन्न भएको छ । नवनिर्मित भवनको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले उद्घाटन गरेसँगै उक्त भवनबाट सेवा प्रवाह पनिसुरु भएको छ ।
चालु आवमै प्रदेश सरकारले जिल्ला अस्पताललाई भौतिक पूर्वाधार तथा उपकरण व्यवस्थापन गरी १५ शय्याबाट २५ शय्यामा स्तरोन्नती गर्ने लक्ष्य लिए अनुसार २३ करोड रुपैयाँ लागतमा उक्त भवन निर्माण भएको हो । नवनिर्मित भवन निर्धारित समयमै तयार भएको हो । हाल अस्पतालले १५ शय्याको सेवा दिइरहेको छ ।
२५ शैय्याको सेवा दिने लक्ष्य अनुसार भवन निर्माण भएको र सेवा विस्तार गर्ने मन्त्री शाहीले जानकारी दिनुभयो । नयाँ भवन निर्माणसँगै अस्पतालमा आन्तरिक व्यवस्थापनका काम हुने र त्यसमा मन्त्रालयको पूर्ण सहयोग रहने उहाँको भनाई थियो ।
अहिले अस्पताल जान र आउन भेरी नदी माथी पुल नहुँदा समस्या छ । समस्या समाधानका लागि उक्त पुल निर्माणको प्रक्रिया पनि अन्तिम चरणमा पुगिसकेको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव दीर्घ पोखरेलले अस्पतालका लागि प्रदेशले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक नहुँदा उपचारमा समस्या हुने गरेको डा. अखण्ड उपाध्यायले जानकारी दिनुभयो । अहिले पनि उक्त अस्पतालमा ७० प्रतिशतभन्दा बढी करारका स्वास्थ्यकर्मीबाट उपचार सेवा सञ्चालन गरिएको छ ।
डोल्पाका बिरामीलाई अहिले हवाई मार्गबाट उद्धार गरेर बाहिर उपचारका लागि लाने गरिएको छ । सामान्य खालका बिरामी जिल्ला अस्पतालमा उपचार भए पनि जटिल समस्या भएकालाई जुफाल विमानस्थलबाट जहाजमार्फत सुर्खेत, नेपालगञ्ज लाने गरिएको छ ।
रासस
प्रतिक्रिया दिनुहोस