१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बजार अभावले रोकिएको कोदोखेती फेरी सुरु



  • आफ्नै खबर
  • ४ जेठ २०८१ शुक्रबार (७ महिना अघि)
  • पाठक संख्या १०४
  • पर्वत/  परम्परागत बालीका रुपमा रहेको कोदो उत्पादनतर्फ पर्वतका किसानको आकर्षण बढ्दै जान थालेको छ । बजार अभावले केही वर्ष पहिलेसम्म कोदो उत्पादन गर्न छाडेका किसान अहिले पुनः कोदोखेतीमा सक्रिय हुन थालेका छन् । 

    पछिल्ला केही वर्षयता होटल, रेष्टुरेन्ट तथा घरबास ‘होमस्टे’ हरुमा कोदोका परिकारको माग बढ्दै गएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । कोदोको परिकारमा प्रोटिन, आइरन र क्याल्सियम बढी मात्रामा पाइने र स्वास्थ्यका लागि उपयोगी हुने भएकाले माग बढ्दै जाँदा उत्पादन पनि बढ्दै गएको किसानको भनाइ छ । 

    पहिले–पहिले कोदोको ढिँडो, रोटी र खोले निकै कम मात्रै पाक्थ्यो । पछिल्लो समय घरबाससँगै सहर बजारका ठूला–ठूला होटलका भान्छामा पनि ढिँडो पाक्न थालेको छ । कोदोको माग बढ्दै जान थालेपछि जिल्लामा व्यावसायिक रुपमा कोदोखेती गर्नतर्फ किसानलाई आकर्षण गर्न थालिएको जिल्लस्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

    केन्द्रले परम्परागत बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने किसानलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदोखेती विस्तारका लागि केन्द्रले सहयोग गरेको छ । कोदोखेती गर्ने किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको केन्द्रका प्रमुख परशुराम अधिकारीले जानकारी दिनुभयो । 

    उहाँका अनुसार चालु आवमा कोदो बालीको प्रवर्द्धनका लागि किसानलाई ५ लाख रुपैयाँ वितरण गरिएको छ । किसानलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको भन्दै यसले खेतबारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको उहाँको भनाइ छ । किसानलाई कार्यबोझ घट्नाका साथै उत्पादन लागत समेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ । 

    पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको ८ हजार ३ सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले जानकारी दिनुभयो । यस वर्ष पर्वतमा ८ हजार ३ सय १० मेट्रिक टन कोदो उत्पादन तथा ५ हजार १ सय ७५ मेट्रिक टन निर्यात भएको कार्यालयले जनाएको छ ।

    २३ करोड २८ लाख ७५ हजार रुपैयाँ कोदो बिक्रिबाट जिल्ला भित्रिएको कृषि ज्ञान केन्द्रका प्रमुख अधिकारीले जानकारी दिनुभयो । परम्परागत जातको कोदोको माग बढेपछि केही किसान व्यावसायिक उत्पादनमा लागेका छन् । जिल्लाको सबै क्षेत्रमा कोदो उत्पादनका लागि उपयुक्त हावापानी रहेको कार्यालयले जनाएको छ । 

    पछिल्लो केही वर्षयता पर्वतको कुश्मा बजारका होटलहरुमा कोदोका परिकारको माग बढ्न थालेको होटल व्यवसायी कृष्णप्रसाद श्रेष्ठले बताउनुभयो । कोदोको ढिँडोसँगै, भाँगो, टिमुर र स्थानीय उत्पादनको परिकार पाहुनाले माग गर्न थालेका उहाँको भनाइ छ । माग बढेसँगै गाउँबाट कोदोको पीठो मगाएर पाहुनालाई ढिँडो खुवाउने गरेको श्रेष्ठले बताउनुभयो ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?