१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कैलालीमा हिउँदेबाली उत्पादन वृद्धि



  • आफ्नै खबर
  • ५ जेठ २०८१ शनिबार (७ महिना अघि)
  • पाठक संख्या १२८
  • कैलाली/   कैलालीमा हिउँदेबाली उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस गहुँ, दलहन, तेलहन, तरकारीलगायतका उत्पादन वढेको हो । 

    जस अनुसार गहुँ उत्पादनमा ३.४२ प्रतिशतले वृद्धि भएको छ । दाना लाग्ने बेला पानी परेकाले गहुँ उत्पादन वृद्धि भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताउनुभयो । गत वर्ष जिल्लाभर ३४ हजार ५ सय ६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख ३ हजार ४ सय ७१ मेट्रिकटन उत्पादन भएको थियो । यस वर्ष ३२ हजार ८ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख १२ हजार ३ सय १२ मेट्रिकटन उत्पादन भएको सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । 

    यो वर्ष ९ हजार ५ सय २० हेक्टर क्षेत्रफलमा दलहनबाली लगाइएकामा १० हजार ४ सय ९१ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ९ हजार ५ सय ४ हेक्टर क्षेत्रफलमा ८ हजार ७ सय ७० मेट्रिकटन दलहन बाली उत्पादन भएको थियो । यस वर्ष दलहनबाली १ हजार ७ सय २१ मेट्रिकटनले वृद्धि भएको हो ।

    यो वर्ष १४ हजार ६० हेक्टरमा तेलहनबाली लगाइएकामा १४ हजार ३२ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १४ हजार ४१ हेक्टर क्षेत्रफलमा १३ हजार सात सय ९७ मेट्रिकटन तेलहनबाली उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

    त्यस्तै, ५४ हजार ८२ हेक्टर क्षेत्रफलमा यस वर्ष हिउँदे तरकारीखेती गरिएकामा ६९ हजार १ सय ३६ मेट्रिकटन उत्पादन भएको जनाइएको छ । गत वर्ष ५५ हजार एक हेक्टर क्षेत्रफलमा ६९ हजार १ सय ६ मेट्रिकटन हिउँदे तरकारी उत्पादन भएको थियो ।

    यस वर्ष जिल्लामा मसलाबाली उत्पादनमा समेत वृद्धि भएको छ । यो वर्ष १६ हजार छ सय ६७ हेक्टरमा मसला खेती गरिएकामा १९ हजार १७ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष १६ हजार २७ हेक्टरमा १८ हजार ६ सय ८२ मेट्रिकटन मसला बाली उत्पादन भएको थियो ।

    गत वर्षको तुलनामा फलफूल बाली र नगदेबाली उत्पादनमा केही ह्रास आएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष ३ सय २६ हेक्टर क्षेत्रफलमा २ हजार ९ सय ५३ मेट्रिकटन फलफूल उत्पादन भएको छ । गत वर्ष ३ सय २६ हेक्टरमा ३ हजार २० मेट्रिकटन फलफूल उत्पादन भएको थियो ।

    २ हजार ९ सय ९२ हेक्टरमा ६ हजार १४ मेट्रिकटन अन्य नगदेबाली उत्पादन भएको छ । गत वर्ष २ हजार ९ सय १० हेक्टरमा ६ हजार ३२ मेट्रिकटन नगदेबाली उत्पादन भएको थियो ।

     कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष कैलालीमा जम्मा ५९ हजार २ सय २५ हेक्टर क्षेत्रफलमा हिउँदे खेती गरिएकामा ३ लाख ६ हजार ८ सय १९ मेट्रिकटन उत्पादन भएको छ । गत वर्ष ६० हजार ७ सय ९६ हेक्टर क्षेत्रफलमा २ लाख ९१ हजार ५२ मेट्रिकटन उत्पादन भएको तथ्याङ्क कृषि ज्ञान केन्द्रसँग छ ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?