बागलुङ/ बागलुङ नगरपालिका–४ निरयघाटमा १४ रोपनी जग्गामा लक्ष्मण पुनको एग्रो रिसोर्ट छ । १४ वर्ष दक्षिण कोरियामा श्रम गरेर फर्केपछि काठेखोला गाउँपालिका–८ लेखानी घर भएका पुनले बागलुङ बजारमा विगत ६ वर्षदेखि माछापालन संगै रिसोर्ट संचालन र तरकारी खेती गर्दै आउनुभएको हो ।
‘श्रमिकका रूपमा कोरिया पुगेको थिएँ । कोरियामा कडा मेहनत र परिश्रम के हो भन्ने शिक्षा पाएँ । कोरियामा कमाएको पैसाले १४ रोपनी जग्गा भाडामा लिएर माछापालन, तरकारीखेती र रिसोर्ट खोलेको हुँ’, उहाँले भन्नुभयो, ‘कोभिड–१९ सुरु हुनुअघि एकैपटकमा माछाबाट ६ लाख रुपैयाँसम्म आम्दानी भयो । त्यसपछि दानाको मूल्य बढ्यो र माछा उत्पादन घटेको छ ।’
पुनका अनुसार माछाको उत्पादन राम्रो भएमा लगानीको दोब्बर नाफा हुन्छ । कोरियामा जस्तै नेपालमै काम गर्नसके कमाउन सकिन्छ भन्ने लागेर लगानी गरेको उहाँको भनाइ छ । ५० लाख रुपैयाँ लगानी गरकाले आम्दानी भए पनि अहिलेसम्म लगानी उठाउन बाँकी रहेको पुनले बताउनुभयो ।
उहाँले छोरा अमृतलाईसमेत माछापालनमा लगाउनुभएको छ । माछापालन सिकाउँदै रिसोर्टको जिम्मेवारी छोरालाई दिनुभएको छ । ‘कोरियामा मेसिनको गतिमा काम हुने, कामप्रतिको लगाव, मेहनत र श्रमप्रतिको सम्मानबारे गतिलो भोगाइ र सिकाइले नेपालमा फर्केर आराम गर्न सकिँन, ६२ वर्षको उमेरमा माछापालनमा उत्तिकै सक्रिय छु’, उहाँले भन्नुभयो ।
पोखरीमा उत्पादित माछा बागलुङ बजारमै खपत हुने भएकाले बजारको चिन्ता नभएको उहाँले बताउनुभयो । उत्पादन बढाउन यस वर्ष भुरामा लगानी थप गरेको पुनले जानकारी दिनुभयो । ३ लाख रुपैयाँको भुरा पोखरीमा हालेपछि राम्रोसँग हुर्केमा १२/१५ लाख आम्दानी हुने तर राम्रो उत्पादन नभएमा ५–६ लाखमै सीमित हुने उहाँको भनाइ छ ।
रासस
प्रतिक्रिया दिनुहोस