१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

बाँदरको कारण धान जोगाउन नसकेपछि कागतीखेती



  • आफ्नै खबर
  • ७ जेठ २०८१ सोमबार (६ महिना अघि)
  • पाठक संख्या ५६
  • कास्की/   ग्रामीण क्षेत्रका किसान धानखेती छोडेर कागतीखेती गर्न थालेका छन् । जनशक्ति, मलखाद्, कृषि पूर्वाधारको अभावका बीच जेनतेन खेती गरे पनि बाँदरबाट जोगाउन नसकिएपछि स्थानीय किसान धानको विकल्पमा कागतीखेती गर्न थालेका हुन् । 

    केही वर्षअघिसम्म बाँदर धपाएर बाली जोगाइए पनि पछिल्लो समय उल्टै आक्रमण गर्न थालेपछि समस्या भइरहेको स्थानीय किसानको गुनासो छ । पोखरा महानगरपालिकाका वडा नं १८, १९, २१, २२, २६, ३१, ३३ लगायत स्थानमा विगतका भन्दा बाँदर आतंक बढेको छ ।

    पोखरा महानगरपालिका वडा नं ३३ को बरमाझथर, बाँसपानी, चाउका, आँगेटारी, बूढीखोरिया, हुँडिकोटदेखि सुरौदी फाँटसम्म बाँदरले दुःख दिएकै कारण खेती गर्नेक्रम बर्सेनि कम हुँदै गएको अगुवा कृषक रमेश आचार्य बताउनुुहुन्छ । ‘फाँटतिर जेनतेन धानखेती भइरहेपनि पाखा तथा टारीतिर अधिकांश स्थानमा बाँदरकै कारण खेतबारी बाँझो छन्’, उहाँले भन्नुभयो, ‘राज्यले बाँदरको व्यवस्थापनसँगै त्यसबाट पीडित किसानको समस्यालाई समाधान गर्नेतर्फ ध्यान दिन नदिँदा बाध्य भएर अन्य खेतीतर्फ लाग्नु परेको छ ।’

    वन्यजन्तु संरक्षण ऐनले बाँदरलाई मार्न नपाइने जनावरका रुपमा सूचीकृत गरेको छ । आफूहरूले बाँदरको व्यवस्थापन एवम् क्षतिपूर्तिको माग गर्दै आए पनि त्यस सम्बन्धमा स्पष्ट नीति तयार नहुँदा राहत तथा क्षतिपूर्तिसमेत पाउन नसकेको उहाँले गुनासो गर्नुभयो । 

    बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगरपालिका–२६ खास्टेताल पारी भुसालटारीका स्थानीय सामूहिकरुपमा कागतीखेतीतर्फ लागेको भुसालटारी कृषक समूहका कोषाध्यक्ष विश्वराज अधिकारीले जानकारी दिनुुभयो । ‘खास्टेतालपारीको भुसालटारी विगतमा राम्रो धानखेती हुने ठाउँ हो । पछिल्ला वर्षमा बाँदर आतंकका कारण खेती जोगाउन मुस्किल छ । त्यसैले विकल्पका रूपमा हामीले सामूहिकरुपमा कागतीखेती गर्न थालेका छौँ ।’

    कागतीखेतीलाई बाँदरले पनि खासै क्षति नगराउने भएकाले विकल्पका रुपमा यहाँको १ सय ७० रोपनी क्षेत्रफलमा कागतीखेती सुरु गरिएको छ । त्यहाँ ३ वर्षयता ३ हजार कागतीका बिरुवा रोपिएका छन्, तिमध्ये २ हजार ७ सय बिरुवा राम्रैसँग हुर्किरहेका छन् । सो खेतीका लागि हालसम्म ५० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । ‘हामीले सुरूका वर्षमा लगाएका १ हजार कागतीका बिरुवा २२ महिना पुगिसकेका छन्, दोस्रो वर्ष २ हजार कागतीका बिरुवा लगाएका हौँ’, अधिकारीले भन्नुभयो, ‘यस वर्ष थप १ हजार ५ सयदेखि २ हजारसम्म बिरुवा थप्ने समूहको तयारी छ ।’

    समूहका सञ्चालक समिति सदस्य नवराज अधिकारीले लेखनाथमा रहेका ७ तालमध्येको १ खास्टेतालमा पर्यटकीय गतिविधि बढाउने गरी कागतीको बगैँचालाई व्यवस्थित र आकर्षित गर्ने समूहको दीर्घकालीन सोच रहेको बताउनुभयो । पोखरा पर्यटन राजधानी घोषणा भइसकेकाले बगैँचा व्यवस्थापन हुनसके खास्टेतालमा आउने पर्यटकको बसाई थप केही समय लम्ब्याउन सकिने सो उहाँको बुझाइ छ । 

    महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले पनि बाँझा जग्गामा कागतीखेती गर्नसकेमा त्यसले कृषकको आम्दानी वृद्धिका साथै पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुभयो । कागतीमा रोग सहने शक्ति बढी हुने भएकाले बाँझा जग्गामा कागतीखेती गर्न महानगरले पनि सहयोगको नीति बनाउने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘कृषकलाई बाँझा जग्गामा कागतीखेतीमा लगाउन सके जमिनको उपयोगका साथै रोजगारी पनि सिर्जना गर्नै सकिन्छ । त्यसैले महानगर र सरोकार भएका निकाय मिलेर यस्ता योजना अगाडि बढाउन जरूरी छ ।’

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?