काठमाडौँ चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा देशको व्यापार घाटा ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख पुगेको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार वैशाख मसान्तसम्ममा कुल १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बराबरको वस्तु आयात हुँदा १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख बराबरको निर्यात भएको थियो
विभागका अनुसार चालु आवको १० महिनामा कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाख बराबरको वैदेशिक व्यापार भएको छ । यो अवधिको कुल वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ दशमलव ५० प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आयात २ दशमलव ३९ र निर्यात ३ दशमलव ६१ प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा भारतसँग नेपालले ७ खर्ब २९ अर्ब ७० करोड बराबरको व्यापार घाटा व्यहोरेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात हुँदा ८६ अर्बको निर्यात भएको छ । नेपालसँग दोस्रो ठूलो वैदेशिक व्यापार छिमेकी मुलुक चीनसँगको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोड बराबर रहेको छ । दश महिनामा चीनबाट २ खर्ब ४० अर्ब ८३ करोड बराबरको आयात हुँदा २२ अर्ब ७४ करोड बराबरको निर्यात भएको छ ।
वैशाख मसान्तसम्मको वैदेशिक व्यापारमा सबैभन्दा धेरै आयात पेट्रोलियम पदार्थको भएको छ । यो अवधिमा १ खर्ब १५ अर्ब ६७ करोड बराबरको डिजेल ५६ अर्ब ८० करोड बराबरको डिजेल र ४६ अर्ब बराबरको खाना पकाउने ग्यास आयात भएको छ । सोही अवधिमा २४ अर्ब १ करोड बराबरको मोबाइल फोन आयात भएको छ ।
नेपालले बढी निर्यात गरेका वस्तुमा कार्पेट ८ अर्ब ७९ करोड, अलैंची ६ अर्ब ९१ करोड, फलामजन्य वस्तु ५ अर्ब ५२ करोड र पाम आयल ५ अर्ब ६० करोड बराबर छ ।
प्रतिक्रिया दिनुहोस