कास्की/ ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ २०७५ सालदेखि सुरू गरिएको अन्नपूर्ण म्याराथनको चौथो संस्करण आगामी जेठ २१ गते आयोजना हुने भएको छ । अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजना तथा अन्नपूर्ण गाउँपालिका कास्कीको व्यवस्थापनमा अन्नपूर्ण आरोहण दिवस (जुन ३) का दिन म्याराथन आयोजना हुने भएको हो ।
अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष एवम् म्याराथन मूलआयोजक समितिका संयोजक ललित गुरुङले म्याराथन अन्तर्गत धावकहरु अन्नपूर्ण आधार शिविरबाट घान्द्रुकसम्म कूल ४२.१९५ किलोमिटर दूरीमा दौडने जानकारी दिनुभयो । ‘अन्नपूर्ण आधार शिविरको पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनका लागि सुरू गरिएको म्याराथनलाई यस वर्ष पनि निरन्तरता दिन लागिएको हो’, उहाँले भन्नुभयो, ‘म्याराथनले अन्नपूर्ण आधार शिविरसहित यहाँको समग्र पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान पुर्याएको छ ।’
सन् १९५० जुन ३ तारिखका दिन फ्रान्सेली पर्वतारोही मौरिस हर्जाेगको टोलीले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहणसँगै विश्वमा हिमाल आरोहणको क्रम सुरु भएकाले अन्नपूर्ण हिमाललाई आरोहणको जेठो हिमालका रुपमा समेत लिइन्छ । मौरिस हर्जाेगको टालीले जुन ३ मा अन्नपूर्ण प्रथमको आरोहण गरेकै कारण यस दिनलाई अन्नपूर्ण आरोहण दिवस (अन्नपूर्ण डे) का रुपमा मनाउने गरिएको छ ।
२०७५ सालदेखि सुरु गरिएको म्याराथन बीचका दुई संस्करण कोभिड– १९ का कारण हुन नसकेकोमा गत वर्षदेखि यसलाई पुनः निरन्तरता दिइएको अध्यक्ष गुरूङले जानकारी दिनुुभयो । म्याराथनमा सहभागी धावक अन्नपूर्ण आधारशिविरबाट माछापुच्छ्रे आधारशिविर, बगर, देउराली, हिमालय, दोभान, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुँदै घान्द्रुकसम्म आउने गरी मार्ग तय गरिएको समितिका महासचिव दिलीप गुरूङले जानकारी दिनुुभयो ।
म्याराथनको पहिलो, दोस्रो र तेस्रो संस्करणको उपाधि क्रमशः त्रिभुवन आर्मीका हरिकुमार रिमाल, डोटीका खगेन्द्रबहादुर भाट र जुम्लाका धीरबहादुर बुढाले जित्नुभएको थियो । तेस्रो संस्करणदेखि महिलातर्फ पनि म्याराथन आयोजना गरिएकोमा महिलातर्फको उपाधि गणना भण्डारीले जित्नुभएको थियो ।
महिला तथा पुरुष दुबैतर्फका लागि हुने म्याराथनमा पहिलो, दोस्रोे र तेस्रो हुनेलाई क्रमशः १ लाख ५० हजार, १ लाख र ७५ हजार रुपैयाँका साथमा मेडल तथा प्रमाणपत्र प्रदान गरिने महासचिव गुरुङले जानकारी दिनुुभयो । विदेशी धावकका लागि प्रोत्साहन पुरस्कारस्वरुप विशेष पुरस्कारको व्यवस्था गरिएको छ । पुरुषतर्फ दर्ता शुल्क ७ हजार रुपैयाँ र महिलातर्फ ५ हजार रुपैयाँ तोकिएको छ ।
महसचिव गुरुङले यस संस्करणमा ७० जनाभन्दा बढी धावक सहभागी हुने बताउनुभयो । उहाँका अनुसार हालसम्म छ जना विदेशी धावकले सहभागि हुने जानकारी गराएका छन् । म्याराथनलाई अन्तर्राष्ट्रिय इभेन्टका रुपमा विकास गर्न गतवर्षदेखि अल्टिमेट एड्भन्चर नेपालले प्राविधिक सहयोग, अन्नपूर्ण गाउँपालिकाको व्यवस्थापन एवम् अन्नपूर्ण समाज काठमाडौँको सहकार्य रहेको छ ।
म्याराथनका लागि ४२ सदस्यीय मूल व्यवस्थापन समिति, १३ वटा विभिन्न उपसमिति तथा सल्लाहकार समिति गठन गरिएको गुरुङले बताउनुुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस