काठमाडौँ/ सर्वाेच्च शिखर सगरमाथाको २९औँ पटक सफल आरोहण गरी विश्वकीर्तिमान कायम गर्नुभएका कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि सगरमाथाको चुचुरोतिर उक्लनुभएको छ । वसन्त ऋतुको जारी आरोहणमा कामीरिताले वैशाख ३० गते सगरमाथाको २९औँ पटक आरोहण गरेर यसअघि आफ्नै २८औँ पटक सगरमाथा आरोहणको कीर्तिमान तोडेर नयाँ कीर्तिमान बनाउनुभएको थियो ।
उक्त कीर्तिमान भङ्ग गर्दै यही सिजनमा सगरमाथाको दोस्रो पटक आरोहणका लागि कामीरिता सोमबार चुचुरोतर्फ लाग्नुभएको हो । सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार कामीरिताले भोलि बुधबार बिहान सगरमाथाको चुचुरोमा पुग्ने योजना अनुरुप अहिले सगरमाथाको चौँथो शिविरनजिक हुनुहुन्छ ।
‘कामीरिता शेर्पा ३०औँ पटक सगरमाथा आरोहणका लागि अहिले साउथकोल नजिक पुग्नुभएको छ । भोलि बिहान चुचुरोमा पुग्ने योजना छ’, फिल्ड कार्यालय प्रमुख गौतमले भन्नुभयो ।
सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिता सगरमाथाको सबैभन्दा धेरैपटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने संसारका एक मात्र पर्वतारोही हुनुहुन्छ । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुग्नुभएका कामीरिताको नाममा ८ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान छ । सगरमाथा आरोहणको ७१ वर्षे इतिहासमा सर्वाधिक आरोहण गर्ने एक मात्र कीर्तिमानी आरोही कामीरिता शेर्पा हुनुहुन्छ ।
अघिल्लो वर्षको वसन्त ऋतुमा सोलुखुम्बुकै पासाङ दावा शेर्पाले २७ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउनुभएको थियो । सगरमाथामा विभिन्न कीर्तिमान कायम गर्ने प्रतिस्पर्धा नै चलिरहेको छ । यही याममा पत्रकार पूर्णीमा श्रेष्ठले १ सातामा ३ पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्ने योजना अनुरुप सगरमाथाको चुचुरोतर्फ लाग्नुभएको छ । पत्रकार श्रेष्ठले यो याममा २ पटक सगरमाथा आरोहण गरिसक्नुभएको छ ।
तेस्रो आरोहणका लागि उहाँ पनि चुचुरोतर्फ लाग्नुभएको जनाइएको छ । यस्तै होचा पुड्का सागर सुनुवारले पनि यही याममा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाउने उद्देश्यसहितसगरमाथा आरोहणमा जानुभएको छ । कास्कीका सागर ३ फिट ७ इन्च अग्लो हुनुहुन्छ । यही याममा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये ७० प्रतिशत आरोहीले आरोहण गरिसकेको प्रमुख गौतमले जानकारी दिनुभयो ।
उहाँले यस याममा आरोही र शेर्पा सहयोगीसहित ४ सय ६० ले सगरमाथा आरोहण गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अबको ४ दिनमा आरोहणका लागि मौसम उपयुक्त भएकाले बाँकी आरोहीले आरोहण सक्ने अनुमान गरिएको छ ।’
खाली हुँदै आधार शिविर
चाँदीझै टल्कने हिउँमा रङ्गीविरङ्गी त्रिपालले सजिएको सगरमाथाको आधारशिविर बिस्तारै सुनसान बन्दै गएको छ । सगरमाथा आरोहण सकेर आरोही गन्तव्यतर्फ लागेको तथा बाँकी आरोही आरोहणका लागि सगरमाथाको चुचुरोतर्फ लागेकाले आधारशिविर सुनसान बन्न थालेको विभागको फिल्ड कार्यालयका प्रमुख गौतमले बताउनुभयो । उहाँका अनुसार यो याममा सगरमाथा आधारशिविरमा आरोहीको व्यवस्थापनका लागि १ हजार ५ सय पाल टाँगिएको थियो ।
आधारशिविरमा पर्वतारोही, शेर्पा गाईड र सहयोगी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि गरी ३ हजार हाराहारी मानिसको चहलपहल थियो । आरोहण यामको २ महिनाभर आधारशिविरमा मानवीय चहलपहल रहन्छ ।
यस याममा २ जना मङ्गोलियन नागरिकको मृत्यु भएको विभागले जनाएको छ । आरोहणका क्रममा घाइते भएका ५० जना भन्दाबढी आरोहीको सगरमाथाको विभिन्न क्षेत्रबाट उद्धार गरिएको छ । घाइतेमध्ये कतिपय आरोहीको हात आँखा खिइएको छ । उनीहरुको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
पर्वतारोहण अनुगमन तथा सहजीकरण समितिले यो पटक आधार शिविरमा हुने अवैधानिक गतिविधि रोक्ने, जथाभावी ड्रोन उडाउने तथा विदेशी नागरिकको अवैध गतिविधि नियन्त्रणमा पनि भूमिका खेलेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस