मान्म कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–९, मुम्राका ४६ वर्षीय वसन्त लुवार गाउँमा स्थापित नेपाली हाते कागजबाट मनग्य आम्दानी गरिरहनुभएको छ । पहिले रोजगारीका लागि विदेशमा गएर जोखिमपूर्ण काम गर्नुपरे पनि अहिले फर्केर गाउँमै उद्योग स्थापना गर्दा आफूसँगै अन्य युवाले पनि रोजगारी पाएका बताउनुभयो ।
उहाँले स्थानीय केही युवा मिलेर स्थापना गरिएको उद्योगमा हाल २४ जनाभन्दा बढीले रोजगारी पाएको समेत जानकारी दिनुभयो ।
धेरै युवा नेपालमा केही गर्न सकिँदैन भनेर विदेशीएका छन् तर अर्काको देशमा गएर आर्थिक उपार्जन राम्रै भए पनि आत्मसन्तुष्टि र स्वाभिमानका लागि आफ्नै देशमा केही गर्नुपर्ने निष्कर्षसहित आफूहरू गाउँमै लघुउद्यममा लागेको वसन्तको भनाइ छ । “युवाले समूहिकरूपमा केही गरेमा नेपालमै केही गर्न सकिन्छ, गाउँमा हामीले त्यो उदाहरण पेश गरिसकेका छौँ । विदेश गएरमात्र पैसा कमाइन्छ भन्ने चलनको अन्त्य हुन जरुरी रहेको छ,” उहाँले भन्नुभयो ।
स्थानीय युवा मिलेर गाउँमा स्वरोजगारको आधार तयार गरिरहेको उद्योग सञ्चालक समितिका अध्यक्ष वीरेन्द्र केसी बताउनुहुन्छ । उहाँले कच्चापदार्थको समस्या नभए पनि विद्युत् अभावका कारण उद्योग पूर्णरूपमा सञ्चालन गर्न नसकिएकाले त्यसमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह गर्नुभयो ।
गाउँपालिकाका उपाध्यक्ष पार्वती सिंह सज्यालले समूहका सदस्यहरूले उत्पादन गरेका नेपाली हाते कागज न्याय समितिले खरिद गर्ने व्यवस्था मिलाइएको बताउनुभयो ।
हाल उक्त उद्योगबाट उत्पादित कागज बेचेर मासिक रु एक लाखसम्म आम्दानी हुने गरेको वसन्तले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस