२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

खुल्यो टिप्ताला नाका, ३० जना व्यापारी चीन प्रवेश



  • आफ्नै खबर
  • ११ जेठ २०८१ शुक्रबार (१२ महिना अघि)
  • पाठक संख्या ७७
  • ताप्लेजुङ/  टिप्ताला नाका आजदेखि खुला गरिएको छ । नेपाल–चीनको सीमानामा रहेको यो नाका कोरोना महामारीयता बन्द थियो । 

    लामो प्रयासपछि नाका खुलेको फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष तथा चीनको तिब्बत डिङजी काउन्टी जानकार छेतेन लामाले बताउनुभयो । लामाका अनुसार नाका खुला गरिएसँगै नेपालबाट ३० जना व्यापारी चीन प्रवेश गरेका छन् । उनीहरुले नेपालमा उत्पादित गलैँचा, दूधजन्य पदार्थ घ्यू, छुर्पीलगायका सामग्री लगेका छन् । उनीहरु करिब १० दिनसम्म तिब्बतमा रहनेछन् । 

    गत वैशाख अन्तिम साता प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यको नेतृत्वमा सुरक्षा निकायलगायतको एक टोली टिप्ताला नाका पुगेको थियो । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङका अनुसार चीनतर्फबाट तिब्बतको डिङजी काउन्टी सरकारका अधिकारीसँगको समन्वयमा गत वैशाख २५ गते नाका खुलाउने सहमति भएको थियो । चीनतर्फबाट तयारी पूरा गरेर आजबाट नाका खुलाएको जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले जनाएको छ । 

    नेपालबाट व्यापार अध्ययनका लागि पहिलो चरणमा ३० जना व्यापारी तिब्बतको रिउ प्रवेश गरेका हुन् । सीमावर्ती क्षेत्रमा बसोबास गर्ने १ सय १५ जनाले तिब्बत प्रवेशका अनुमति लिएका छन् । जिल्ला प्रशासन ताप्लेजुङका अनुसार फक्ताङ्लुङ गाउँपालिका–६ लेलेप र ७ ओलाङचुङगोलाबासीले अनुमतिपत्र लिएका छन् । त्यस्तै मिक्वाखोला गाउँपालिका–५ पापुङका नागरिकले समेत अनुमति पाएका छन् । टिप्ताला नाका कोरोना महामारीयता बन्द थियो ।

    आचार्यले टिप्ताला नेपाल–तिब्बतको महत्वको व्यावसायिक नाकासमेत भएकाले द्विदेशीय व्यापार प्रवद्र्धनमा समेत यो नाकालाई भरपूर उपयोग गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नु्भयो, ‘व्यावसायिक हिसाबले यो नाका महत्वको छ, यसलाई उपयोग गर्ने गरी सबै पक्षबाट सहयोग र समन्वय जरुरी छ ।’

    ५ हजार २ सय मिटर उचाइमा रहेको टिप्ताला भञ्ज्याङमा दुई साता अगाडि मात्र पहिलोपटक नेपाली गाडी पुर्याइएको थियो । सडक निर्माण कम्पनीका ठेकेदार पेम्बा ठिले शेर्पाले ६ वर्षदेखिको मेहनत सफल भएको बताउनुभयो । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट टिप्ताला भञ्ज्याङको दूरी ८५ किलोमिटर छ । आयोजनाका म्यानेजर राजीव लामिछानेका अनुसार ट्याक्टर सदरमुकाम फुङलिङबाट सीमानासम्मै पुग्छ । 

    सडक निर्माणमा द्विदेशीय सिमाना नजिकैको बस्ती ओलाङचुङगोलाबासीहरुको पनि त्यतिकै योगदान छ । यहाँ जन्मेर देश विदेशमा रहेकाबाट प्राप्त २ करोड रुपैयाँभन्दा बढी रकमबाट सिमानादेखि बस्तीसम्मको २४ किलोमिटर सडक निर्माण गरिएको थियो ।

    रासस