तनहुँ/ नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागिएको हो ।
भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्य सहित साहित्यिक उद्यान निर्माण सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।
विगतमा जग्गा अधिग्रहणको काम सुरु भएपनि कामले गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि यो काम तीव्र गतिमा अगाडि बढेको उहाँको भनाइ छ । नगरपालिका प्रमुख त्रिपाठीले भन्नुभयो, ‘नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यको जन्मथलोलाई सप्तधामका रुपमा विकास गर्नुपर्छ भनेर अगाडि बढेका छौँ ।’
सिङ्गो नेपाललाई भाषाको माध्यमबाट जोड्ने आदिकवि भानुभक्त आचार्यको जन्मथलो ओझेलमा परेपछि यसलाई साहित्यिक पर्यटनको गन्तव्यस्थल बनाउने लक्ष्य राखिएको त्रिपाठीको भनाइ छ । उहाँले भन्नुभयो, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा भानुभक्त आचार्यको विशिष्ट पहिचान छ, यो ठाउँलाई समय सन्दर्भअनुसार सबै किसिमको धाम बनाउने परिकल्पना साथ अघि बढेका छौँ ।’
साहित्यिक उद्यानमा विभिन्न संरचना निर्माण गरिनेछ । त्रिपाठीका अनुसार यहाँ भानुभक्तको विशाल सालिक, रामायण मन्दिर, मूर्ति वाटिका, भानुभक्तकालिन नमूना बस्ती, भानु साहित्य ग्राम, भानु प्रज्ञा भवन, भानु वनस्पति उद्यान, सप्तधाम, मनोरञ्जन वनभोजस्थल, प्राकृतिक वन विचरण क्षेत्र, सम्पदा संरक्षण क्षेत्र र साहित्यिक पदमार्ग प्रस्तावित गरिएको छ ।
त्रिपाठीले भन्नुभयो, ‘भानु साहित्य उद्यानको मूल उद्देश्य भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई साहित्यिक तीर्थस्थल र सांस्कृतिक एकताको केन्द्रका रुपमा विकास गर्न आवश्यक भौतिक संरचना निर्माण गर्नु हो । नेपाली भाषा, साहित्य, संस्कृति, पर्यटन, कला र राष्ट्रिय सम्पदाहरुको संरक्षण सम्बद्र्धनका निम्ति विविध कार्यक्रम सञ्चालन गरिनेछ ।’
१ करोड ८० लाख खर्च
भानु साहित्यिक उद्यानका लागि हालसम्म १ करोड ८० लाख रुपैयाँ खर्च भएको छ । साहित्यिक उद्यान निर्माणका लागि गत र चालु आवमा गरी १ करोड ८० लाख ४१ हजार ५ सय रुपैयाँ खर्च भएको हो ।
उद्यान निर्माणका लागि हालसम्म १ सय ३५ कित्ता जग्गा अधिग्रहण गरी लालपूर्जा नगरपालिकाको स्वामित्वमा आइसकेको प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिनुभयो । त्यस्तै ५३ कित्ताको लालपूर्जा बन्न बाँकी रहेको र ३२ कित्ताको जग्गा अधिग्रहणका लागि सिफारिसको तयारीमा रहेको पौडेलले बताउनुभयो । ३२ कित्ताको जग्गा अधिग्रहणका लागि ५९ लाख रुपैयाँ मुआब्जा निर्धारण भएको छ ।
चालु आर्थिक वर्षमा साहित्यिक उद्यान निर्माणका लागि सरकारबाट ५ करोड रुपैयाँ बजेट प्राप्त भएको थियो । त्यसमध्ये जग्गा अधिग्रहणबापत ७६ लाख ६७ हजार रुपैयाँ सम्बन्धित लाभग्राहीको खातामा गइसकेको छ । त्यस्तै १ करोड २९ हजार रुपैयाँ भुक्तानीका लागि चेक बनिसकेको र बैङ्कमा पठाउने तयारी गरिएको उहाँको भनाइ छ ।
पौडेलका अनुसार अघिल्लो आवमा ३८ कित्ताको ९८ लाख ७६ हजार रुपैयाँ भुक्तानी भइसकेको छ । यसैगरी चालु आवमा गुरुयोजना अवधारणासम्बन्धी विज्ञ बैठकका लागि ३ लाख रुपैयाँ खर्च भएको पौडेलले जानकारी दिनुभयो । पौडेलले साहित्यिक उद्यान निर्माणका लागि हालसम्म ३६ प्रतिशत वित्तीय प्रगति भएको उल्लेख गर्नुभयो ।
रासस
प्रतिक्रिया दिनुहोस