१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

कथा यात्रामा पौडेलको कथनी



  • आफ्नै खबर
  • १४ जेठ २०८१ सोमबार (६ महिना अघि)
  • पाठक संख्या १३१

  • काठमाडौं/  प्रशासकीय चक्षुबाट नेपाली जनजीवन चिहाउँदै विसंगतीहरूलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने सिद्धहस्त कथाकार नरेन्द्रराज पौडेलको ७५औं जन्मोत्सव कथा यात्राका यात्रीहरूले पौडेलको बानेश्वर स्थित निजी निवासमा कथाकारको कथनी श्रवण गरी मनाए । उक्त अवसरमा कथाकार नरेन्द्रले  माओवादी सशस्त्र द्वन्द्वकालीन कालखण्डको आफ्नो सदावहार कथा ’गोली’ वाचन गर्नु भएको थियो ।

    कथाकारको कथनीमा कथाकार पौडेलले आफ्ना बाल्यकालका स्मृति, कथा लेखन र प्रकाशनको सुरुवाती संघर्ष, प्रकाशनको खुसी, लेखनमा  समकालीन साथीहरूको सद्भभाव र पाठकहरुको मायाको फेहरिस्त सुनाउनु भयो ।

    कथाकार नरेन्द्रराज पौडेल करिव १७ वर्ष लगातार प्रजिअ भई नेपाली राजनीतिका अनेक उकाली ओराली समेत भोग्नु भएकोले लेखनीमा प्राय प्रशासनीक दृष्टिकोणबाट नेपाली जनजीवनका पीडा र मर्महरू झल्कने गरेका छन् ।

    वि. सं. २०२६  सालमा ’केही दिन केही क्षण’ कथा प्रकाशन गरी कथा लेखन यात्रा आरम्भ गर्नु भएको पौडेलका मेटिएका रेखाहरु,स्फटिकको खम्बा, पर्खालबाहिर, स्वप्नयात्रा, रोबोटको ऑखा  कथासंग्रहलगायत केही हाँस्यव्यड्ग्य संग्रह प्रकाशनमा आएका छन् । केही उपन्यासहरूको प्रकाशक पर्खिरहेका पौडेल निरन्तर कथा, निबन्ध र कविता लेखिरहने गर्नुहुन्छ ।

    कथा पढ्नमा जति स्वाद आउँछ, लेखनमा त्यति नै जटिल भएको बताउने नरेन्द्रराज कथामा कथानकको अलावा परिवेश, पात्र, चरित्र र द्वन्दको सही संयोजन हुनुपर्ने तर्क राख्नुहुन्छ । कथाकार नरेन्द्रराज पौडेल वि.सं. २००६ साल जेष्ठ ९ गते बुद्धजयन्तीका दिन सिन्धुपाल्चोकमा जन्मनुभएको हो ।

    कथा यात्राले प्रत्येक महिना एक सिद्धहस्त कथाकारको जन्मोत्सव मनाउँदै कथाकारको कथनी श्रवण गर्ने कार्यक्रमको थालनी वरिष्ठ साहित्यकार पद्मावती सिंहबाट गरेको थियो । नियमित गरिने कथा यात्राको यो दोस्रो कदम हो । कथा यात्रीहरूमा दीपक लोहनी, प्रमोद प्याकुरेल, डा. हिमलाल श्रेष्ठ, कुमार काफ्ले, विश्व कुइँकेल, हरिश कल्पित र पवित्रा अधिकारी रहेका छन् ।

    यस कार्यले नेपाली कथालाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?