पर्सा/ राष्ट्रिय आविष्कार केन्द्रले ३ दशकदेखि बन्द भएको वीरगञ्जको कृषि औजार कारखाना जिम्मा लिएको २० महिनामा १० किसिमका कृषि औजार तयार पारेको छ ।
हाल १० किसिमका साना कृषि औजार तथा उपकरण तयार पारिएको केन्द्रका सहायक मेकानिकल इन्जिनियर अरुण साहले बताउनुभयो । धान रोप्ने सानो मेसिन, घाँस खुर्किने, ड्याङ बनाउने मेसिन, खाल्डो खन्ने हातेऔजार, आलु रोप्ने, आलु गोड्ने, घाँस तथा पराल काट्ने, धान काट्ने सानो मेसिन, प्लास्टिक ओछ्याउने र केराको फाइबर निकाल्ने मेसिन तयार भएको उहाँले बताउनुभयो । उहाँले उपकरण कृषकलाई उपयोगी हुने विश्वास व्यक्त गर्दैै भन्नुभयो, ‘यी उपकरणको मूल्य भने निर्धारण गरिसकेका छैनौँ ।’
इन्जिनियर साहले ३ चरणको अथक मेहनतपछि उपकरण बनाउन सफलता मिलेको बताउनुभयो । केन्द्रका कार्यरत मेकानिकल इन्जिनियरहरूको टोलीले कारखानामा रहेका पुराना साना–ठूला गरेर ५५ उपकरणमध्ये ५१ वटा मर्मतसम्भार गरेर सञ्चालन गर्न सकिने जनाएको छ । हाल केन्द्रमा १५ जना कार्यरत छन् ।
सरकारले २०७९ असोज ११ गते कृषि औजार कारखाना राष्ट्रिय आविष्कार केन्द्रलाई सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । केन्द्रले औपचारिक रूपमा २०७९ माघदेखि काम थालेको हो ।
रासस
प्रतिक्रिया दिनुहोस