खोटाङ/ ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५ शय्याको पालिकास्तरीय अस्पताल सम्पन्न हुने अन्तिम चरणमा पुगेको छ । लिफ्ट सुविधासहितको अपाङ्गमैत्री अस्पतालको भवन आगामी दसैँअघि हस्तान्तरण गर्ने योजनासहित ठेकेदार कम्पनीले निर्माणलाई तीव्रता दिएको हो ।
निर्माणाधीन अस्पताल भवनको भूइँतलामा इमरजेन्सी (आकस्मिक कक्ष), ल्याब र ऐक्स–रे सेवा, पहिलो तलामा शल्यक्रिया (अप्रेशन) र ओपिडी (बहिरङ्ग) सेवा, दोस्रो तलामा वाड (शय्या) र प्रशासन तथा अन्तिम तलामा भण्डारण र क्लिनिङ (औजार सफा गर्ने ठाउँ) हुने विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)मा उल्लेख छ ।
एघार महिनामा सम्पन्न गर्नेगरी भ्याटसहित १९ करोड ३० लाख ४४ हजार रुपैयाँ लागतमा श्यामसुन्दर–गोरखा–तुवाचुङ जेभीले अस्पताल निर्माणको जिम्मा लिएको थियो । प्रत्येक तलामा सर्वसाधारण, सेवाग्राही र कर्मचारीका लागि महिला÷पुरुष छुट्टाछुट्टै शौचालय निर्माण हुने सम्झौतामा उल्लेख गरिएको निर्माणस्थलमा खटिनुभएका कम्पनीका इञ्जिनियर नवीनकुमार यादवले बताउनुभयो ।
उहाँका अनुसार अपाङ्गता भएका व्यक्तिलेसमेत सहजरुपमा सेवा लिनसक्ने वातावरण बनाउन अन्तिम तलासम्म नै ¥याम्प भ¥याङ (ह्वील चियर गुडाउन मिल्ने भ¥याङ) निर्माण भइरहेको छ । भवनको भूइँ र दोस्रो तलामा प्लास्टर सम्पन्न गरेर तेस्रो तलामा इँटा जोड्ने काम सुरु गरिएको इञ्जिनियर यादवले जानकारी दिनुभयो ।
‘साढे तीनतला अग्लो भवनको अन्तिम तलाको ढलान यही जेठ ६ गते सम्पन्न गरेका छौँ । अहिले दक्ष प्राविधिकसहित ४० जना कामदार खटाएर काम गरिरहेका छौँ’, उहाँले भन्नुभयो, ‘संरचनाको काम सम्पन्न भइसकेको छ । असार मसान्तभित्र ९० प्रतिशत काम सम्पन्न गर्ने योजनाअनुसरा तीव्रता दिएका छौँ ।’
आगामी साउन १ गतेदेखि रङरोगनको काम सुरु गरेर निर्धारित समयमा भवन हस्तान्तरण गर्नेगरी कामलाई तीव्रता दिइएको इञ्जिनियर यादवले जानकारी दिनुभयो । विसं २०७९ साउन २६ गते सम्झौता गरी गत माघ २३ सम्पन्न गर्नुपर्ने थियो । तोकिएको समयमा काम सम्पन्न नभएपछि आगामी साउन २५ गतेसम्मका लागि पहिलो पटक म्याद थप गरिएको उहाँको भनाइ छ ।
जग्गा विवादका कारण ढिलागरी काम सुरु भएको भन्दै भवन गुणस्तरीय बनाउन, थपिएको मितिमा सम्पन्न गराउन गाउँपालिकाको तर्फबाट सहजीकरण भइरहेको गाउँपालिकाका अध्यक्ष गीरेन्द्रबहादुर राईले जानकारी दिनुभयो । ‘सुरुमा जग्गा विवादले सम्झौता ढिलो भयो । वर्षाको समयमा सम्झौता भएकाले ठेकेदार कम्पनीले काम गर्न सकेनन्’, उहाँले भन्नुभयो, ‘अहिले छ महिनाको म्याद थप भएको छ । तोकिएको समयमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिएका छौँ ।’
स्थानीयस्तरमा सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएपछि छिमेकी जिल्ला सोलुखुम्बुका बासिन्दालाई समेत सहज हुने गाउँपालिकाले जनाएको छ । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाको अधिकांश वडावासी अहिले पनि ऐँसेलुखर्कमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा सेवा लिन आउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस