२३ बैशाख २०८२ मंगलबार | 06 May 2025 Tue

यार्साको आकर्षण : सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका



  • आफ्नै खबर
  • १४ जेठ २०८१ सोमबार (११ महिना अघि)
  • पाठक संख्या ९९
  • सिन्धुपाल्चोक/   नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुनसान भएको छ । नाकामा केही सुरक्षाकर्मी मात्रै देखिने गरेका छन् । अधिकांश पसल र होटेल बन्दप्रायः छन् । केही खुुलेका पसलमा पनि व्यापार घटेको छ ।

    मितेरी पुल आसपास चीनबाट आयात गरिएका सवारी मात्रै छन् । जिल्लाको पूर्वी भेगका बासिन्दा यहाँका चिनियाँसँग मिलेर आफ्नो मुख्य आयस्रोत यार्सागुम्बा सङ्कलनका लागि चीन र नेपालको उच्च लेकक्षेत्र पुगिसकेका छन् । 

    अध्यागमन कार्यालय कोदारीका सूचना अधिकारी दिनेश बराईकाअनुुसार चीनले यहाँका माथिल्लो हिमाली भेगका लेकक्षेत्रमा यार्सा सङ्कलन र बिक्री गर्ने अनुमति दिएको छ । यहाँका सबैजसो स्थानीय र व्यवासायी यार्साकै लागि लेकमा पुगेकाले सीमाको बजारमा खासै चहलपहल छैन ।

    यसअघि विभिन्न जिल्लासहित राजधानी र सीमाक्षेत्रका गरी झण्डै तीन हजारभन्दा बढी यार्सा सङ्कलक लेकक्षेत्र पुग्ने गर्थे । वैशाखको दोस्रो सातादेखि सुरु हुने यार्सा सङ्कलनका लागि सीमाक्षेत्रबाट मात्रै झण्डै ७ सय जना त्यसतर्फ प्रस्थान गरेको प्रारम्भिक अनुमान गरिएको छ । चीनको खासा, रमिते, पाङका स्थानीयले मितेरी पुलभन्दा पर रहेका चिनियाँ बजारमा झण्डै २ दर्जन पसल सञ्चालनमा ल्याएका थिए ।

    भोटेकोशी चेम्बर अफ कर्मशका अध्यक्ष फुनु शेर्पा बताउनुहुन्छ, ‘चलेका पसल पनि अरुलाई जिम्मा दिएर गएका छन् भने अधिकाशंले सटर बन्दनै गरेका त्यता लागेका छन्, फलस्वरुप चिनियाँ बजार सुनसान बनेको छ ।’ 

    यसअघि नेपाली यार्सा सङ्कलकलाई चीनको उच्च इलाकामा यार्सा टिप्न पूरै बन्देज थियो । चीनको भू–भागमा पर्ने गौरीशङ्कर हिमशृङ्खला र पर्वतको फेदीस्थित लाप्ट, रेल्दोन, मानचौरजस्ता स्थानका यार्साको मूल्य राम्रो पाउने भएकाले स्थानीय जोखिम मोलेर भए पनि त्यहाँ यार्सा सङ्कलन गर्न जाने गरेका थिए ।

    अहिले सर्वसाधरणकै अनुमति पत्रलाई आधार मानेर यार्सा टिप्न दिएयता उत्साहित यहाँका यार्सा सङ्कलक गाउँ रित्याएर लेकमा पुगेका हुन् । 

    वढ्दै कारोवार 
    तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले आयात र निर्यातलाई चीनले फराकिलो बनाएसँगै नाकामा व्यापारिक चहलपहल बढेसंगै सुधार आइरहेको बताउनुभयो ।

    तातोपानीबाट अहिलेसम्म ८ वटा कन्टेनरबाट झण्डै १ करोड रुपैयाँबराबरको मुडा, फ्रेमजस्ता सामग्री चीनको ल्हासा र अन्य बजारमा पुगेका छन् । त्यसबाहेक निर्यात छैनभने आयात बढ्दो छ । दैनिक १२ कन्टेनरबाट फलफूल र लत्ताकपडासहित अन्य सामग्री आएका छन् । सवारी साधनपनि भित्रिरहेको भन्सार प्रमुख केसीले जानकारी दिनुभयो ।