१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

धनियाँ बिक्री गरेर वार्षिक ८ लाख आम्दानी



  • आफ्नै खबर
  • १६ जेठ २०८१ बुधबार (६ महिना अघि)
  • पाठक संख्या ६०
  • दाङ/  खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । उहाँ धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्रैमहिना खेती गर्नुहुन्छ । 

    उहाँका बुवाले ८ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्नुहुन्थ्यो । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । २ कठ्ठा खेतमा ४ किलो धनियाको बीउ २ हजार ४ सय रुपैयाँमा खरिद गरि गरेको खेतीको धनियाँ बिक्री गरेर २ लाख रुपैयाँ आम्दानी गरेको उहाँको भनाई छ ।  

    सिजनमा मुठाको ५ रुपैयाँमा बिक्री हुन्छ भने बेमौसममा मुठाको १० रुपैयाँमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उहाँले बताउनुभयो । धेरै उखेल्न सक्यो भने दैनिक ३ हजारदेखि ३ हजार ५ सय रुपैयाँसम्म आम्दानी हुने गरेको अमितको भनाई छ । उखेल्न नसकेको समयमा पनि १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्मको बिक्री हुने गरेको उहाँले बताउनु भयो ।  

    धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिनुको कारण उहाँले खोल्नुभयो । ‘वैशाख, जेठ र असारमा धनियाँ मुठाको १० रुपैयाँमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ’, उहाँले भन्नुभयो । गत वर्ष यी ३ महिनामा २ लाख रुपैयाँ आम्दानी गरेको उहाँले बताउनुभयो । सरदर वर्षको ८ लाख रुपैयाँ धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उहाँको भनाई छ ।   

    ‘धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ’, उहाँले भन्नुभयो, ‘लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।’

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?