बागलुङ बागलुङ जिल्लाको निसीखोला गाउँपालिकास्थित रिग तालको चर्चा चुलिएसँगै गाउँपालिकाले प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यहाँ प्रशस्त पर्यटकीय सम्भावना बोकेका स्थान भए पनि मध्यपहाडी लोकमार्गको विकाससँगै रिग तालको चर्चा हुन थालेपछि पालिकाले यसको प्रवर्द्धनमा जोड दिएको हो ।
बागलुङ र रुकुमको सिमानामा पर्ने पातीहाल्ने पुगेका पर्यटक पैदलमार्गमार्फत रिग ताल पुग्न थालेका छन् । निसीखोला–६ मा पर्ने उक्त ताललाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन यसको संरक्षण, पूर्वाधार र प्रचारप्रसारमा पालिकाले जोड दिन थालेको गाउँपालिका कार्यालयले जनाएको छ ।
पातीहाल्नेबाट १५ मिनेटको पैदलयात्रामार्फत पुग्न सकिने रिग तालमा हालै सडक सञ्जाल विस्तार गरिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले बताउनुभयो । गोठथरीका रुपमा रहेको रिग ताल वरपरको क्षेत्र पर्यटकीय हिसाबले मनमोहक र रमणीय भए पनि यसअघि संरक्षण नहुँदा ओझेलमा परेको उहाँको भनाइ छ ।
पालिकाको सानो स्रोतबाट गत वर्षदेखि पूर्वाधारमा लगानी गरी पर्यटकीय क्षेत्रका रुपमा प्रवर्द्धन गर्न थालिएको अध्यक्ष मगरले बताउनुभयो । गत आवमा रु ८ लाख खर्च गरेर तालसम्म पुग्ने सडक विस्तार गरिएको थियो भने यस वर्ष ताल र रिग बराहथानको संरक्षण गरिएको उहाँले जानकारी दिनुभयो ।
पूर्वाधार विकासमा गत वर्ष रु ८ लाख र चालु आवमा रु ५ लाख लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । “रिगमा पुग्ने पर्यटकलाई लक्षित गरी यहाँ ठूलो लगानी थप पर्यटकीय पूर्वाधार निर्माण गर्नु आवश्यक छ,” उहाँले भन्नुभयो, “तालसँगै नजिकै रहेको तालबराहलाई संरक्षण गरेका छौँ । सडक, खानेपानी, शौचालय, सत्तललगायत पूर्वाधार निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गरेर विकास गर्ने योजना छ ।”
समुन्द्री सतहबाट करिब ३ हजार २ सय मिटर उचाइमा रहेको तालको लम्बाइ १ सय, चौडाइ ६० र गहिराइ करिब १२ मिटर रहेको स्थानीय बताउँछन् । पछिल्लो समय पहाडबाट बगेर आउने भल जम्मा हुन थालेपछि ताल पुरिने सम्भावना बढेसँगै पालिकाले पर्खाल निर्माण गरेको छ ।
रोल्पा, रुकुम, प्यूठान, पर्वत र बागलुङको विभिन्न स्थानको अवलोकन गर्न सकिने र भेँडाका बथान हेर्न पर्यटक यहाँ आउने गरेको स्थानीय लालसिंह बुढामगरले बताउनुभयो । “पहिला गाईभैँसी, घोडा र भेँडालाई पानी खुवाउन तालको प्रयोग गरिन्थ्यो । हिमपात भएको समयमा ताल निकै मनमोहक देखिन्छ,” उहाँले भन्नुभयो ।
सडक सञ्जाल विस्तार भएसँगै आन्तरिक पर्यटकको आवागमन बढ्न थालेको भन्दै यस क्षेत्रको प्रचारप्रसार र प्रवर्द्धन गर्नु जरुरी रहेको बुढामगरको भनाइ छ । बागलुङका विभिन्न स्थानबाट धेरै पर्यटक आउने गरेका भन्दै रोल्पा र रुकुमबाट केही कम आउने उहाँले बताउनुभयो ।
पछिल्लो समय गाउँपालिकाले पर्यटकीय क्षेत्रको पहिचान गरी र विकास गर्न थालको छ । पालिकाले संरक्षण र प्रचारप्रसारलाई तीव्रता दिन थालेपछि धेरै आन्तरिक पर्यटकको आगमन हुन थालेको हो ।
“तालको नाम ‘रिग’ खासगरी मगर खाम भाषाबाट राखिएको हो । मगर खाम भाषामा ‘रि’ को अर्थ ‘पानी’ र ‘ग’ को अर्थ ‘जम्मा भएर रहेको’ भन्ने बुझाउँछ,” गाउँपालिका अध्यक्ष मगरले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस