आज: २०८२ चैत्र १७, मंगलबार | Tue, 31, Mar, 2026

बढ्दै पर्यटक आगमन, मेमा भित्रिए ९० हजारभन्दा बढी


  • आफ्नै खबर
  • २०८१ जेष्ठ २०, आईतबार १ साल अघि
  • २६ पाठक संख्या
  • काठमाडौँ सन् २०२४ को मे महिनामा ९० हजारभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार मे महिनामा जम्मा ९० हजार २ सय ११ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन्। 

    सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६ दशमलव १० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ को मेमा ७७ हजार सात सय तीनजना विदेशी पर्यटक नेपाल आएका थिए। 

    कोभिड–१९ महामारीपूर्व ७८ हजार ३ सय विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए। विदेशी पर्यटक आगमन उत्साहजनक रहेको बोर्डका निर्देशक मणिराज लामिछानेले बताउनुभयो। उहाँले भन्नुभयो, “समग्रमा पर्यटक आगमन उत्साहजनक देखिन्छ। तुलनात्मक रुपमा भारत र अमेरिकाबाट धेरै सङ्ख्यामा पर्यटक भित्रिए पनि चीनबाट अपेक्षित रुपमा पर्यटक बढेका छैनन्।”

    विगतका महिनामा झै यो पटक पनि सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ३८ हजार दुई सय ८८ जना पर्यटक नेपाल भित्रिएका छन्। 

    सोही अवधिमा चीनबाट ८ हजार ३ सय ८१ जना पर्यटक नेपाल आएका छन्। संयुक्त राज्य अमेरिकाबाट ८ हजार ५ सय २७ पर्यटक नेपाल भित्रिएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु