२७ जेठ २०८२ मंगलबार | 10 Jun 2025 Tue

कान्तिलोकपथ पूर्ण सञ्चालनमा



  • आफ्नै खबर
  • २१ जेठ २०८१ सोमबार (१२ महिना अघि)
  • पाठक संख्या ११७
  • ललितपुर/  कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालन भएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि उक्त मार्गमा यातायात संचालन बन्द गरिएको थियो ।  

    कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी आजदेखि यातायात सेवा सञ्चालनमा आएको जानकारी दिनुभयो । ‘ललितपुरको बागमती गाउँपालिकाको वडा नं ३ झाँक्रीडाँडाबाट छपेलीतर्फ कार्कीबासको साँघुरो ठाउँमा कटिङ सकिएको छ, काल्चे क्षेत्रमा कटिङ गर्नुपर्ने काम पनि सम्पन्न भएको छ, ललितपुरतर्फ सिङ्गल लेन भएको केही ठाउँमा यस आवमा बजेट नपुग भएको कारण कटिङको काम सम्पन्न हुन बाँकी छ, बहुवर्षीय टेण्डरमा कटिङ गर्ने भनिएको छपेलीबाट काल्चेतर्फको खण्डमा मात्रै बाँकी रहेको छ,’ उहाँले भन्नुभयो, ‘बाँकी काम अर्को आवमा हुन्छ, अहिलेलाई सवारी आवतजावतका लागि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालन हुनेछ ।’

    वैशाख १५ गतेदेखि आंशिकरुपमा खुला गरिएको सडक मर्मतसम्भारका क्रममा कटिङ गर्दा माथिबाट खसेको ढुङ्गाले पूर्णरूपमा क्षति काल्चे खण्डको सडकको भाग भत्किएपछि वैशाख २१ गतेदेखि पूर्णरूपमा बन्द भएको थियो । काठमाडौँलाई हेटौँडासँग जोड्ने उपयुक्त र दूरीका हिसाबले छोटो मानिएको यो सडक निर्माण थालिएको ६७ वर्ष भइसकेको छ । 

    कान्तिराजमार्गको हेटौँडा बुद्धचोकदेखि ललितपुरको सातदोबाटोसम्म लम्बाइ ९२ किलोमिटर हो ।  यसमध्ये बुद्धचोकदेखि टीकाभैरवसम्म ७९ किमि सडक आयोजनाले निर्माण गर्ने हो । बाँकी खण्ड निर्माणको जिम्मा सडक डिभिजन कार्यालय ललितपुरको हो । टीकाभैरवदेखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पार्ने काम पूरा गरेको भए पनि स्थानीयवासीको संरचनाको अवरोधका कारण ठेचो सुनाकोठीको भाग चौडा हुन नसकेपछि २०७६ सालमा सरकारले निर्णय गरेर सडकको खण्ड टीकाभैरवबाट छम्पी भैँसेपाटी हुँदै नख्खुसम्म तय गरेको छ । भैँसेपाटीसम्म सडक चौडा भएपछि छम्पी टीकाभैरव खण्डमा भने चौडा हुन बाँकी नै रहेको छ ।

    रासस