बागलुङ/ यतिबेला भेडापालक किसान ढोरपाटनको बुकी उक्लने तरखरमा छन् । बागलुङसहित रोल्पा, रुकुम, म्याग्दी र प्युठानका भेडा चरिचरनका लागि बुकीतर्फ हिँडिरहेका छन् । यसपटक ७ सय भेडा लिएर बुकीतर्फ हिँडिरहनुभएका रोल्पा जिल्लाको थवाङ गाउँपालिका–४ तेलखोलाका सन्तोष घर्ती भेडा चराउँदै बागलुङ आइपुग्नुभएको छ ।
भेडापालनमा धेरै दुःख भएको जनाउँदै भेडा पाल्न छाड्ने क्रम बढिरहेको सन्दर्भमा घर्तीले यसबाट भएको आम्दानीले परिवार पाल्दै राम्रो शिक्षा दिन सफल भएको बताउनुभयो । उहाँले भेडापालनमा आफू सन्तुष्ट भएको भन्दै वार्षिक ४० लाख रुपैयाँ आम्दानी गरिरहेको बताउनुभयो ।
बागलुङको निसीखोला गाउँपालिकाको रिग चरन क्षेत्रमा भेडा चराइरहनुभएका घर्तीले वार्षिक ४० लाख रुपैयाँ आम्दानीले आफ्नो परिवारलाई दाङको तुलसीपुरमा पढाउँदै आएको बताउनुभयो । ‘परम्परा धान्नमात्रै भेडापालेर भएन, भेडा लिएर बुकी जान थालेको १८ वर्ष भयो, सानै उमेरबाट भेडापालनमा लागेँ, छोराछोरीलाई मलाई जस्तो दुःख नहोस् भनेर भेडापालनलाई व्यावसायिक बनाउन थालेको छु । २ सय भेडाले घरखर्च चल्दैन, त्यसैले ७ सय पाल्न थालेको हुँ’, घर्तीले भन्नुभयो, ‘भेडापालनमा दुःख छ भन्दैमा छाड्न कहाँ सकिन्छ र पुर्खाको पेसा, ३ छोरी र २ छोरलाई दाङ लगेर पढाएको छु, उनीहरूको खर्च धान्न भेडा पाल्नैपर्छ ।’
भदौको अन्तिममा फर्कने तयारीसहित बन्दोबस्तीका सामग्री बोकेर जेठको दोस्रो हप्ता घरबाट बुकीतर्फ हिँडेका घर्ती घरमा भन्दा जङ्गलमा बढी बसाइ हुने बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘आफ्नो त घरमा भन्दा बढी जङ्गलको बास हुन्छ । आम्दानी राम्रो भए पनि भेडापालन निकै जोखिमको पेसा हो । राम्रो पढाइ गर्न सकिएन, ४५ वर्षको पुगियो आफ्नो त जिन्दगी भेडा पालेरै बित्नेभयो ।’ छोराछोरीले राम्रो पढे भने मलाई केही चाहिन्न, भेडापालनबाटै खान, लाउन र शिक्षादीक्षा दिएर वर्षमा ८–१० लाख रुपैयाँ बचतसमेत हुने गरेको उहाँले बताउनुभयो ।
रिगताल वरपरबाट आफू बुकी उक्लन थालेको बताउँदै चिसो याममा मात्रै भेडालाई घर फर्काउने बताउनुभयो । भेडालाई जङ्गली जनवार र रोगबाट जोगाउन सकेमात्रै नाफा हुने बताउँदै गोठालो खर्च र भेडाको हेरचाहमा समेत वार्षिक कमाइको आधा खर्च हुने उहाँ बताउनुहुन्छ ।
७ सय भेडाबाट १ वर्षमा ४ सय नयाँ पाठापाठी जन्मने गरेको घर्तीले सुनाउनुभयो । एउटालाई सरदरमा न्यूनतम १० हजार रुपैयाँमा बिक्री भए पनि ४ सय पाठापाठीको ४० लाख रुपैयाँ हुने उहाँ बताउनुहुन्छ । पाठीको मूल्य सस्तो भए पनि पाठाको धेरै छ । विशेषगरी मासुसँगै भेडाका पाठापाठी पूजाआजाका लागि धेरै प्रयोगमा आउने गरेको छ ।
उहाँ बताउनुहुन्छ, ‘भदौमा एकपटक झरेपछि पुनः मङ्सिरसम्म बुकी क्षेत्रमै भेडापालन गरेर बसिन्छ, हिउँ पर्न थालेपछि मात्रै भेडा बेँसी झारिन्छ ।’ बुकी क्षेत्रमा बागलुङ, म्याग्दी, रोल्पा, प्युठान र रुकुमका हजारौँ भेडा पुग्ने गरेका छन् ।
रासस
प्रतिक्रिया दिनुहोस