१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

तीन साता भित्र भरतपुर अस्पतालमै ‘एमआरआई’ हुने



  • आफ्नै खबर
  • २३ जेठ २०८१ बुधबार (६ महिना अघि)
  • पाठक संख्या ७८
  • चितवन/  भरतपुर अस्पतालमा एमआरआई मेसिन आइपुगेपछि ३ साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ । ३० करोड रुपैयाँ लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो ।

    अस्पतालका रेडियोलोजी विभाग प्रमुख डा. केशव पौडेलका अनुसार जर्मनीमा बनेको सिमेन्स कम्पनीको मेसिन ल्याइएको हो । ‘थ्री टेस्ला ६४ च्यानल’को उक्त उपकरण आधुनिक भएको भन्दै उहाँले मुटु, नसालगायत रोगको परीक्षणमा प्रभावकारी हुने बताउनुभयो । 

    डा. पौडेलले भन्नुभयो, ‘अत्याधुनिक भएकाले सबै खालका परीक्षण गर्न सकिन्छ । योसँगै अस्पतालबाट बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता अन्त्य हुने विश्वास लिएका छौँ ।’ एमआरआई मेसिनबाट दैनिक २० वटासम्म रोगको परीक्षण गर्न सकिने उहाँको भनाइ छ ।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीका अनुसार सबै सामग्री आइसकेकाले ३ साताभित्र सञ्चालनको तयारी भइरहेको छ । झन्डै १८ महिना पहिला सम्झौता गरेर अहिले उक्त उपकरण अस्पताल आइपुगेको उहाँले जानकारी दिनुभयो । 

    ‘भरतपुर अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू छ । अहिले एमआरआई नहुँदा बिरामी रिफर गरेर बाहिर पठाउनुपर्ने बाध्यता थियो’, डा. तिवारीले भन्नुभयो, ‘अब बीमा र अन्य बिरामीले अस्पतालबाटै सहज सेवा पाउने भएका छन् ।’ निजीको तुलनामा सस्तोमा एमआरआई हुने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा दैनिक २ हजारभन्दा बढी बिरामी आउने गरेका छन् ।
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?