११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

नचुहिने छानाको रहर पालिरहेछन् कुँडेढोरका विद्यार्थी



  • आफ्नै खबर
  • २३ जेठ २०८१ बुधबार (१ बर्ष अघि)
  • पाठक संख्या १७३
  • बागलुङ/  उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवन । निसीखोला गाउँपालिका–६ निसेलढोरको कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरु यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन् । 

    २०६४ सालमा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन । ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ ।

    ३ वटा विद्यालय भवनमध्ये २ वटा भवन कच्ची छन् । हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन । यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ । बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन् । पढाउनेक्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिनुभयो ।

    ‘विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ’, विकले भन्नुभयो, ‘गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला ।’

    कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन् । उनले भनिन्, ‘कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ ।’ ५ कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा ६ देखि माथी पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ ।

    निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन् । निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो मानिस गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन् । ५० घरधुरी भने स्थायीरुपमा निसेलढोरमै बस्छन् ।

    निसीखोला–५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रुपमा निसेलढोरमा सञ्चालन गरिएको थियो । २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो । निसीखोला–५ निसीबाट सोही वडाको निसेलढोर आउन ५ घण्टा पैदल हिँड्नुपर्छ ।