१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

आम्दानी राम्रो देखेपछि किसान जरबेरा फूलखेतीतर्फ आकर्षित



  • आफ्नै खबर
  • २६ जेठ २०८१ शनिबार (६ महिना अघि)
  • पाठक संख्या १३९
  • भक्तपुर/  गुन्डुमा जरबेरा फूलखेतीबाट यहाँका किसानले मनग्य आम्दानी गर्न थालेका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु कार्की गाउँमा कुश कार्कीले सुरु गरेको जरबेरा फूलखेतीले यहाँका किसानलाई खेती गर्न आकर्षित गरेको छ । 

    ‘कट फ्लावर’का रूपमा अत्यधिक प्रयोग गरिने जरबेरा फूलखेती नेपाललगायत विश्वमै उत्पादन हुने गरेको छ । पहेंलो, सुन्तला, गुलाबी, गाढा रातो, बैजनी र सेतो रङमा फूल्ने यो फूलको सौन्दर्यका कारण नै यसलाई विभिन्न किसिमका फूल सजावटमा बढी प्रयोग गर्ने गरिन्छ । इजरायलबाट नेपाल भित्रिएको जरबेरा फूलखेतीबाट २ रोपनी जग्गामा वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी दिने किसान कार्की बताउनुहुन्छ । २ रोपनी जग्गामा फूलखेती सुरु गर्नुभएका उहाँले यस वर्षदेखि बागमती प्रदेश सरकारको अनुदानमा थप २ रोपनीमा फूलखेती विस्तार गर्न उच्च प्रविधिको हरित गृह निर्माण गर्नुभएको छ । 

    जरबेराका ५ थरिका फूल फुलिरहेको उहाँको बारीमा भारतको पुनेबाट प्रतिबिरुवा १ सय १० रुपैयाँमा खरिद गरि ३ हजार ५ सय बिरुवा लगाएकामा हाल ३ हजार १ सय बोटले फूलको उत्पादन दिइरहेको र ४ सय बिरुवा मरेको किसान कार्कीले जानकारी दिनुभयो । १ दिन बिराएर एकपटकमा करिब १ हजार ८ सय फूल टिपेर कालीमाटीमा बिक्री गर्दै आएका उहाँले मौसम हेरेर १५ देखि ३० रुपैयाँमा एउटा फूल बिक्रि हुने बताउनुभयो । यो फूलले ४ वर्षसम्म उत्पादन दिने र ४ वर्षमा एउटा बोटले २ हजार १ सय ६० भन्दा बढी फूल उत्पादन हुने जनाउँदै उहाँले २ रोपनी जग्गामा लगाएको फूलबाट वर्षमा १० लाख रुपैयाँसम्म आम्दानी हुने बताउनुभयो । 

    सुरुमा २० लाख रुपैयाँ लगानी गरेर टनेल निर्माणदेखि प्रविधि जडान गरी फूलखेती गरेका उहाँले २ वर्षमा लगानी उठाएर ४ वर्षसम्म मुनाफा लिन सकिने र ४ वर्षपछि दोस्रो पटक फूल लगाउँदा नयाँ टनेल निर्माण गर्नु नपर्ने भएकाले लागत घट्ने तथा मुनाफा बढ्ने बताउनुभयो । 

    नगरउपप्रमुख सरिता भट्टराई तिमिल्सिनाले प्रदेश सरकारसँगै नगरपालिकाले पनि नगरपालिकाका बासिन्दालाई व्यावसायिक फूलखेती गर्न अनुदान दिँदै आएको बताउनुभयो । उहाँले कृषि उत्पादनमा बीउ, बिरुवा, प्रविधि र तालिम दिएर किसानलाई तरकारी तथा फूल उत्पादनमा प्रोत्साहन र टनेल निर्माणमा अनुदान दिँदै आएको जानकारी दिनुभयो ।

    नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाध्यक्ष रविन्द्र सापकोटाले विगत ६ वर्षदेखि सूर्यविनायकको गुण्डुलाई फूलखेतीको पकेट क्षेत्रका रुपमा घोषणा गर्दै अनुदान दिन सुरु गरेको बताउनुभयो । गुण्डुलाई फूलको राजधानीको नाममा चिनिन थालेको स्मरण गर्दै गुण्डुमा मात्रै १ सयभन्दा बढी घरपरिवारले व्यावसायिक फूलखेती गरेको उहाँको भनाई छ । उहाँले फूलखेती गर्ने किसानलाई सयपत्री फूलमा ७० प्रतिशत अनुदान दिएको बताउनुभयो । गुण्डुका किसानलाई नगरपालिकालको अनुदानमा ५० परिवारलाई ५० हजार बिरुवा शुक्रबार अनुदानमा वितरण गरेको सापकोटाले जानकारी दिनुभयो । 

    गुण्डुबाट मात्रै १ वर्षमा १० करोड रुपैयाँको फूल बाहिरिने जनाउँदै उहाँले सयपत्री, मखमली र जरबेरा फूलतर्फ यहाँका किसान आकर्षित हुँदा मनग्य आम्दानी गर्न सकेको बताउनुभयो । नगरपालिकाको कृषि शाखाका प्रमुख शान्ता बुढाथोकीले गुण्डुमा मात्रै वडा नं ७ मा कार्कीले र वडा नं ४ मा सम्राट खड्काले जरबेरा फूलको व्यावसायिक खेती सुरु गरेको बताउनुभयो । 

    प्रदेश सरकारले उच्च प्रविधिको टनेल निर्माणका लागि ९ लाख ६० हजारमध्ये ४ लाख ८० हजार रुपैयाँ अनुदान दिएको उहाँले बताउनुभयो । कम्तीमा १५ वर्षसम्म टिकाउ हुने उच्च प्रविधिको टनेललाई झिकेर अन्यत्र सार्न पनि सकिने जानकारी दिँदै बुढाथोकीले प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सूर्यविनायक नगर क्षेत्रलाई व्यावसायिक फूलखेतीतर्फ किसानलाई आकर्षित गर्ने कार्यक्रम ल्याइएको बताउनुभयो ।

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?