२७ बैशाख २०८२ शनिबार | 10 May 2025 Sat

सामुदायिक विद्यालयमा शैक्षिकस्तर सुधार अभियान



  • आफ्नै खबर
  •     (११ महिना अघि)
  • पाठक संख्या १४३
  • ताप्लेजुङ/  जिल्लाका सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधार गर्ने उद्देश्यले आठराई त्रिवेणी गाउँपालिकाले १३ बुँदे शैक्षिक घोषणापत्र जारी गरेर अभियान सुरु गरेको छ । पालिकाले शैक्षिक भेला गरी समुदायिक विद्यालयहरूको शैक्षिकस्तर सुधार अभियान सुरु गरेको हो । 

    गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमुले शिक्षाको गुणस्तर सुधार्न शिक्षक, विद्यार्थी र अभिभावकसमेतलाई जिम्मेवार बनाउने विषय घोषणापत्रमा समावेश गरिएको बताउनु भयो । गाउँपालिकाले जारी गरेको घोषणापत्रमा शिक्षणमा कार्यरत सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, बालविकास सहजकर्ता र विद्यालय कर्मचारीहरु ९५ प्रतिशत भन्दामाथि हाजिर भई पठनपाठनमा संलग्न भएमा शिक्षक दिवसका अवसरमा प्रोत्साहन गरिने उल्लेख छ । 

    विद्यालय हाताभित्र राजनीतिक गतिविधिमा प्रतिबन्ध लगाइएको तथा हाल कायम रहेको गाउँ शिक्षा ऐन, नियमावली, कार्यविधि र निर्देशिका समयानुकूल परिमार्जन गरिने जनाइएको छ । प्रधानाध्यापकको छनोट प्रचलित कानुन, ऐन तथा नियमावलीबमोजिम गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि योग्य, विषयगत र प्रविधिमा दक्खल राख्ने शिक्षकको छनोट गर्ने घोषणापत्रमा उल्लेख गरिएको छ । 

    विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक सङ्घलाई विद्यालयको प्रभावकारी अनुगमन तथा सुपरीवेक्षणका लागि आवश्यक तालिम दिइने भएको छ । यसैगरी विद्यालयको भौतिक पूर्वाधारलाई बालमैत्री बनाइने छ भने शैक्षिक, सामाजिक र आर्थिक पक्षलाई सुदृढ बनाइने तथा अभिभावक शिक्षा तथा सचेतना कार्यक्रम सञ्चालन गरिने छ ।

    रासस