१६ मंसिर २०८१ आईतबार | 01 Dec 2024 Sun

मनहरीको ३ पक्की पुल सञ्चालनमा



  • आफ्नै खबर
  • २७ जेठ २०८१ आईतबार (६ महिना अघि)
  • पाठक संख्या ७०
  • मकवानपुर/  मनहरी गाउँपालिकाले आन्तरिक स्रोतबाट १९ करोड रुपैयाँ खर्चेर निर्माण गरेका ३ वटा पक्की पुल शनिबारदेखि सञ्चालन भएका छन् । मनहरीको लामिटार–मकरी–चकरी–बेलडाँडा हुँदै हेटौँडा नगरको पदमपोखरी जोड्ने सडकअन्तर्गत निर्माणाधीन ५ वटा पुलमध्ये निर्माण सम्पन्न भएका ३ पुल सञ्चालन भएका हुन् । 

    वाग्मती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले पुलको उद्घाटन गर्दै प्रत्यक्ष रूपमा जनता लाभान्वित हुने विकास–निर्माणका कामलाई ३ वटै तहका सरकारले विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मनहरि पालिकाले पुल निर्माणका निम्ति गरेको प्रयासको सराहना गर्नुभयो ।  

    कार्यक्रममा दिइएको जानकारीअनुसार निर्माण पूरा हुन बाँकी २ वटामध्ये ठाडेखोलाको पुल १ महिनाभित्रै सम्पन्न गर्न प्रयास गरिरहेको र हाँडीखोलाको पुल पनि केही महिनाभित्रै पूरा लक्ष्यका साथ धमाधम काम भइरहेको छ । मनहरी–१ र २ जोड्ने च्यापल खोला पुल, ३ र ४ जोड्ने ट्वाङग्रा खोला पुल र ३ र ४ वडालाई नै जोड्ने मसिने खोला पुल निर्माण सम्पन्न भएको हो । 

    ३ स्पानको च्यापल खोला पुल ९७ दशमलव ९ मिटर लामो छ । यो पुल ६ करोड २८ लाख ९८ हजार रुपैयाँमा सम्झौता भएको हो । २ स्पानको ट्वाङग्रा खोलाको ६४ दशमलव १५ मिटर लामो पुल निर्माण गर्न ६ करोड ४९ लाख ६० हजार रुपैयाँ खर्च गरिएको छ । यस्तै २ स्पानको ७४ दशमलव ५५ मिटर लामो मसिने खोला पुल ६ करोड ५९ लाख ५० हजार रुपैयाँमा निर्माण भएको हो । 

    ३ वटा पुल निर्माण सम्पन्न गर्न गाउँपालिकाले १९ करोड ३८ लाख रुपैयाँ खर्चिएको अध्यक्ष रञ्जन कालाखेतीले बताउनुभयो । २ वर्षभित्रै सम्पन्न गर्नेगरी २०७७ सालमै निर्माणको काम थालिएको भए तापनि विविध समस्याका कारण निर्माण पक्षले समय थप गरी पुल निर्माण सकेको हो । एकैदिन ठेक्का सम्झौता गरिएको ५ वटामध्ये ३ वटा पुल निर्माण सकिएको र २ वटा पुल निर्माणको काम जारी छ ।

    हिराचन–बानियाँ जेभीसँग ८ करोड ६७ लाख ५ हजार रुपैयाँमा सम्झौता गरी निर्माणाधीन ठाडोखोला पुलको काम करिब ८५ प्रतिशत र भैरव–नारायणम् जेभीसँग ५ करोड ३५ लाख ५१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको हाँडीखोला पुलको काम करिब ६५ प्रतिशत पूरा भएको गाउँपालिका अध्यक्ष कालाखेतीले जानकारी दिनुभयो । ५ वटै पुल निर्माण सम्पन्न हुँदा गाउँपालिकाको करिब ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने उहाँले जानकारी दिनुभयो । 

    रासस
     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?