११ साउन २०८२ आईतबार | 27 Jul 2025 Sun

वीर अस्पतालमा ब्रेन ट्युमरको शल्यक्रिया निःशुल्क



  • आफ्नै खबर
  • २७ जेठ २०८१ आईतबार (१ बर्ष अघि)
  • पाठक संख्या १५७
  • काठमाडौं/  वीर अस्पतालले आजदेखि ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया सुरु गरेको छ । अन्तर्राष्ट्रिय ब्रेन ट्युमर दिवसका अवसर पारेर ब्रेन ट्युमरको निःशुल्क शल्यक्रिया सुरु गरेको अस्पतालको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका अध्यक्ष प्रा.डा. राजीव झाले जानकारी दिनुभयो । 

    उहाँका अनुसार आजदेखि असार १६ गतेसम्म अस्पतालमा आउने ब्रेन ट्युमरका बिरामीको निःशुल्क शल्यक्रिया गरिनेछ । बाहिरी अस्पतालमा शल्यक्रिया गर्दा कम्तीमा १ देखि ३ लाख रुपैयाँसम्म पर्छ । शरीरका कोषिकाहरु असामान्य ढङ्गबाट बढ्दै गएको अवस्थामा ब्रेन ट्युमरको समस्या हुने उहाँले जानकारी दिनुभयो । 

    उहाँले भन्नुभयो, ‘मानिसको उमेर बढ्दै जाँदा शरीरका अङ्गहरु कमजोर हुने क्रमसँगै ब्रेन ट्युमरको सम्भावना बढ्दै जान्छ । हेपाटाइटिस, एड्सजस्ता रोग लागेर कमजोर भएका व्यक्तिको लिम्फोमा ट्युमर हुने उच्च सम्भावना रहन्छ ।’ 

    ब्रेन ट्युमर हुनुको अर्को कारण खराब विकीरण पनि हो । एक्स–रे, सिटीस्क्यान गराउँदा निस्कने विकीरण हानिकारक मानिन्छ । ब्रेन ट्युमरको उपचारमा धेरै प्रयोग हुने प्रविधि भनेको ‘एसआरएस’ अर्थात् ट्याक्सी रेडियो सर्जरीलाई लिने गरिन्छ । यसले कतिपय ब्रेन ट्युमरलाई शल्यक्रिया नगरी सुकाइदिन्छ तर उच्च डोजको विकीरण हुने भएकाले शरीरका अन्य भागमा प्रत्यक्ष असर गर्दछ र पछि क्यान्सरको जोखिम बढाउने चिकित्सकहरु बताउँछन् । 

    अस्पतालमा दैनिक ६ देखि ८ जना ब्रेन ट्युमरका बिरामी उपचारका लागि आउने गरेका छन् । झाका अनुसार मुलुकभरि प्रत्येक दिन ब्रेन ट्युमरका १ सय जना बिरामी अस्पताल आउने गरेका छन् । 

    ब्रेन ट्युमरसम्बन्धी लक्षण, यसको जोखिम समयमा पहिचान गर्ने र उपचार गर्ने हो भने यो रोगबाट पार्ने असर, ब्रेन ट्युमरबाट हुन जाने शारीरिक र मानसिक दुर्वलतालाई कम गर्न सकिने उहाँको भनाइ छ । नेपालमा सबैभन्दा पहिलो ब्रेन ट्युमरको शल्यक्रिया पनि वीर अस्पतालमा गरिएको थियो ।

    रासस